• ६ भदौ २०८२, शुक्रबार

धमाधम भेटिँदै, जंगलमा बेवारिसे हतियार

blog

जंगलमा लुकाइछिपाई राखिएको अवैध हतियार बरामद गर्दै प्रहरी । तस्बिर – सहदेव बस्नेत, गोरखापत्र

जाजरकोट, वैशाख १० गते । प्रशासनले हतियार बुझाउन गरेको आग्रह र स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय अवैध रुपमा बेवारिसे अवस्थामा दैनिक रुपमा भरुवा बन्दुक भेटिन थालेका छन् । जिल्लामा हालसम्म चार वटा अवैध हतियार प्रहरीले फेला पारेको छ ।

केही दिन पहिले छेडागाड नगरपालिका –२ डेढकुला भन्ने स्थानमा जंगलभित्र रहेको ओढारमा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा अस्थाई प्रहरी पोष्ट सुयाडा जाजरकोटबाट प्रहरी टोलीले उक्त एक नाल भरुवा बन्दुक फेला पारेको थियो ।  

त्यस्तै, प्रहरी चौकी पैंक जाजरकोटबाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा कुशे गाउँपालिका वडा नं. ८ बिजुलीडाँडास्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको थियो । 

यसैगरी, नलगाड नगरपालिका – ५ खानटाकुरा कैचु जंगलमा बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको थियो । त्यसैगरी, चैत २७ गते छेडागाड नगरपालिका – ११ कार्की गाँउस्थित शिरुबारी जंगलमा बेवारिसे अवस्थामा दुई नाले भरुवा बन्दुक फेला पारेको थियो ।

करिब १५ दिन भित्रमा चार वटा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको तथ्यांक प्रहरीसँग छ ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी प्रशासनमा बुझाउन भने सँगै प्रहरीले पनि कडाईका साथ निगरानी गर्न गस्तीहरु बढाइएको हुँदा यसरी बेवारिसे अवस्थामा बन्दुक फेला परेको बताउनुभयो ।

इजाजत प्राप्त हतियार आगामी १२ गतेसम्म बुझाउन जिल्ला प्रशासन कार्यालयले म्याद दिएको र सोही अनुसार बुझाइरहेकाले यसरी बेवारिसे अवस्थामा भेटिने अवैधवाला नै हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी नायव उपरीक्षक निरौलाको भनाइ रहेको छ ।