मुसीकोट समाचारदाता रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको मुसीकोटमा तीन वटा वडाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसले विजय हासिल गरेको हाे । मुसिकोट नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ज्ञानु चन्द ९०२ मतसहित विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका डम्बर थापालाई २९ मत अन्तरले पराजित गर्नुभएको हो । यस्तै, सदस्यहरुमा पनि काँग्रेस–एमाले गठबन्धनका अन्जना केसी डिसी, धनमाया नेपाली, चोपबहादुर खत्री र माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा गणेश हमाल निर्वाचित हुनुभएको छ ।नगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली काँग्रेस-एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट काँग्रेसका दिनेश खड्का विजयी हुनुभएको हो । उहाँ ६२८ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी माओवादी-नेकपा यस गठबन्धनका दलबहादुर खड्काले ४०७ मत ल्याउनुभएको छ । वडा सदस्यहरुमा नेपाली काँग्रेसका भवानी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी हुनुभएको छ ।त्यसैगरी, नगरपालिकाको वडा नम्बर ३ मा पनि नेपाली काँग्रेसको टिम विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका दशरथ केसी ४०८सहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकबहादुर कामीले २२४ मत प्राप्त गर्नुभएको छ ।
लोकेन्द्र जोशीदार्चुला, जेठ १ गते । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् । नगर प्रमुखमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपप्रमुखमा दुर्गा बिष्टले चार हजार ६२६ मतसहित विजयी हुनुभएको हो ।चैसीरसँग पराजित हुनुभएका गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी बिष्टसँग पराजित गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गर्नुभयो । पराजित भट्टसँग चैसीर २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो । अहिले चैसीरसँग भट्ट पराजित हुनुभयो । काँग्रेसको गढका रुपमा चिनिएको महाकाली नगरपालिकामा विजय हासिल हुनुलाई एमालेले उपलब्धिको रुपमा हेरेको छ । महाकाली नगरपालिका–१ मा एमालेका मोहनसिह महरा ७२७ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर २ मा एमालेकै शंकरसिह डोबाल ५०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ३ मा काँग्रेसका पदमसिंह महरा ६०४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ४ मा एमालेका जगत चुनारा २५८ मत प्राप्त गर्दै विजयी हुनुभयो ।वडा नम्बर ५ मा एमालेका दिलेन्द्रप्रसाद अवस्थी ५१० मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ६ मा कांग्रेसका प्रेमबहादुर पाल ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ७ मा एमालेका शोभानसिह रैखोला ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ८ मा एमालेका भवानसिह धामी ५५४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । त्यस्तै, वडा नम्बर ९ मा काँग्रेसका गजेन्द्रसिह कार्की ६९० मत प्राप्त गर्दै विजयी हुनुभयो । नौँ वडा रहेको महाकाली नगरपालिकामा ६ वडामा एमाले र तीन वडामा काँग्रेसले विजय प्राप्त गरेको छ ।
धर्बेन्द्र झा धनुषा, जेठ १ गते । धनुषाको १८ वटै पालिकामा मतगणना जारी रहेको छ । धनुषाको १० वटा पालिकामा नेपाली काँग्रेस, दुई वटामा नेकपा एमाले, दुईमा जसपा र लोसपा, एक वटामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट राजीनामा दिएर मेयर पदमा घन्टाघर चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार शाह अगाडि हुनुहुन्छ । शाहले १ हजार २ सय ६४ मतसहित अग्रता हासिल गर्नुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशङ्कर शाह हीराले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, आँप चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी शाह १ हजार ३ सय ६२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याई पछ्याउँदै हुनुहुन्छ । आँप चुनाव चिन्ह रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडामध्ये आईतबार चार बजेसम्ममा २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लभ अधिकारीले ५४१ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी, वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार शाहले ६६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एसका अशोक गुप्ताले २९५ मत ल्याउनुभएको हाे । वडा नं.३ मा तमलोपाका दीपेन्द्र शाह विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ । जिल्लाभरिमा मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा ढिलाइ भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले दिनुभएको जानकारी अनुसार कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सरददेव यादव, क्षिरेश्वरनाथ नगरपालिका १ मा नेपाली काँग्रेसका मुवारक कवाडी, नगराईन नगरपालिका १ मा नेपाली काँग्रेसबाट सीताराम महतो, बटेश्वर गाँउपालिका १ मा नेपाली काँग्रेसका अशोककुमार महतो, मिथिला नगरपालिका १ मा नेपाली काँग्रेसका जोगी महतो, लक्ष्मीनियाँ गाँउपालिका १ मा नेकपा एमालेका दिलिप यादव, २ मा नेकपा एमालेकै लालजी साह तेली, विदेह नगरपालिका १ मा नेकपा एमालेका सञ्जय पाण्डे, वडा नं.२ मा रामपुकार सहनी, शहीदनगर नगरपालिका १ मा नेपाली काँग्रेसका तेजीलाल यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापर विजयी हुनभएको छ ।
नेकपा (एमाले)ले स्थानीय निर्वाचन सुरु हुनु अगाडिदेखि, मतदान र मतगणनासम्मको कार्य प्रभावित पार्न खोजेको आरोप लगाएको छ।
काठमाडौं, जेठ १ गते । त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । त्रीवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो । सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ । मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन विदा कार्यान्वयन भएपछि कार्यालय समय भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । सरकारले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ । यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने राजप्रत्रमा उल्लेख छ ।
राजन रावतहुुम्ला, जेठ १ गते । सिमकोट र सर्केगार्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दुई र एक जना चङ्खेली गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुुभएको छ । आइतबार दिउँसो भएको अन्तिम मतगणनाको परिणामअनुुसार उहाँहरु निर्वाचित हुनुुभएको हो ।मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले सिमकोट गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएको बताउनुुभयो । उहाँले ३५४ मत ल्याएर विजयी हुनुुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका इन्द्र लामाले ३२५ मत ल्याउनुुभयो । सो वडामा महिला सदस्यमा भने काँग्रेसले जितेको छ भने बाँकी तीन सदस्य माओवादी केन्द्रले जितेको छ । त्यसैगरी सर्केगार्ड गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मोहन गिरिले वडा ८ को वडा अध्यक्षमा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका रंगमल रोकाया विजयी हुनुुभएको बताउनुुभयो । चारसय मत ल्याएर उहाँ विजयी हुनुुभएको हो । उहाँको प्रतिद्वन्द्वी माओवादीका लालधन बुढाले १७२ मत ल्याउनुुभएको थियो । सो वडामा तीन जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुुभएको छ भने एक जना सदस्य माओवादीबाट निर्वाचित हुनुुभएको छ । त्यसैगरी चङ्खेली गाउँपालिका–५ को स्वतन्त्र उम्मेदवार विजयी हुनुुभएको छ । यसरी स्वतन्त्रबाट विजयी हुनेमा हर्कधन तामाङ रहनुुभएको छ । उहाँ ९५ मत ल्याएर विजयी हुनुुभयो । उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमबहादुुर लामा रहनुुभएको छ । सो वडामा १९५ मत थियो ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनुभएको छ। उहाँ खानेपानीको धारा चुनाव चिह्नमा चुनाव लड्नु भएको थियो।
मुकुन्द सुवेदीबर्दिया, जेठ १ गते । बर्दियाको मधुवन नगरपालिका ३ मा बागी उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडाध्यक्षमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मधुवन नगरपालिकाका ४७ वर्षीय नारायण मल्ल अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७ सय ७ मत प्राप्त गर्नुभएको छ । चौधरीलाई १९ मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित मल्लले ७ सय २६ मत ल्याउनुभएको छ । यसअघिको स्थानीय निर्वाचनमा उहाँ काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त वडामा नेकपा एमालेका उम्मेदवार बासुराम थारुले ५ सय ४९ मत प्राप्त गर्नुभएको छ ।कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि मल्ले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मल्लसहित ६४ जनाले कांगेसको क्रियाशील सदस्यले राजिनामा दिएर वडाध्यक्षमा उमेदवारी दिनुभएको थियो ।
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको थप दुई वडामा नेपाली काङ्ग्रेसले वडा अध्यक्ष जितेको छ । धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा सो पार्टीका सन्तोष मुडभरी पुनः निर्वाचित हुनुभएको छ । यस्तै, कैलारी गाउँपालिका–२ को वडा अध्यक्षमा प्यानलसहित विकास चौधरी निर्वाचित हुनुभएको छ । कैलालीमा नेपाली काङ्ग्रेसले अहिलेसम्म ६ वडा अध्यक्ष जितेको छ । नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले दुई दुई सिट र स्वतन्त्र उम्मेदवारले एक सिट जित्नु भएको छ । सत्तागठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।
सिन्धुली समाचतारदातासिन्धुलीमाढी, जेठ १ गते । सिन्धुलीमा ७९ वडामध्ये १६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र)ले ९ वटा वडा, नेपाली काँग्रेसले ५ वटा वडा र नेकपा एमालेले दुई वटा वडामा जित हात पारेको हाे । नेकपा माओवादी केन्द्रले मरिण गाउँपालिकामा १, २, ३, हरिहरपुरगढी गाँउपालिका १, गोलन्जोर गाउँपालिका १, घ्याङलेख गाउँपालिका १ र ५, दुधौली नगरपालिका १३ र फिक्कल गाउँपालिका १ मा जित हात पारेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसले हरिहरपुरगढी गाउँपालिका २, तीनपाटन गाँउपालिका २, १०, ११ र गोलन्जोर गाँउपालिका २ मा विजयी हासिल गरेको हाे । निर्वाचन अधिकृतको कार्यालले जनाए अनुसार नेकपा एमालेले पनि कमलामाई नगरपालिका ३ र तीनपाटन गाउँपालिका १ मा जित हात पारेको छ ।
विष्णुप्रसाद पोखरेलदमक, जेठ १ गते । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक खाता खोलेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको वार्ड हल्दिबारी १ मा वडाध्यक्षसहित पूरै प्यानल राप्रपाले जितेको छ । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवीबहादुर थापा प्यानलसहित वडाध्यक्ष विजयी बन्नुभएको हो । वडा सदस्यमा प्रकाश कार्की, कुलबहादुर राई, महिला सदस्यमा शान्ता खतिवडा शिवाकोटी र र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बन्नुभएको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाकै रविन्द्र लिङ्देनको फराकिलो अग्रता छ । हल्दिबारी गाँउपालिकामा यसभन्दा अघिको निर्वाचनमा राप्रपाले नै अध्यक्ष जितेको थियो ।
चाँदनी आचार्यघोडाघोडी (कैलाली) जेठ १ गते । कैलालीको घोडाघोडी, बर्दगोरिया र भजनी नगरपालिका तथा गाउँपालिकामा आईतबार दिउँसोसम्म फरक फरक राजनीतिक दलका चार जना वडा अध्यक्ष विजयी भएका छन् ।कैलालीको घोडाघोडी नगरपालिकामा वडा १, २ , र १२ को मतगणना शनिवार विहानबाट शुरु भए तापनि आईतबार दिउँसो वडा नम्बर १२ को मतगणना सकिएसँगै नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रामदुलारे चौधरीको प्यानल विजयी भएको छ । उहाँले नेकपा एमालेका खडकबहादुर चौधरी (उमार)लाई ४७५ मतको अन्तरले पछि पार्दै विजय हुनुभएको हो । विजयी चौधरीले आठसय २६ मत प्राप्त गर्नुभएको छ ।सहायक निर्वाचन अधिकृत उमेशराज रेग्मीले घोडाघोडीको १२ वटा वडामा जम्मा खसेको मत ३३ हजार ६४९ रहेको जानकारी दिनुभयो । आईतबार साँझसम्म सात हजार मत गणना भएको जनाउदै उहाँले वडा नम्बर २ र १ को मतपरिणाम सोमबार दिउँसोसम्म आउन सक्ने बताउनुभयो । घोडाघोडी नपाको प्रमुखमा नेकपा समाजवादीले अग्रता लिएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।त्यसैगरी बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ र ६ मा समेत वडाअध्यक्ष दुई फरक पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर १ मा एमालेका उम्मेदवार मिथुन गौतमले ७९५ मत प्राप्त गर्दै अध्यक्षपदमा विजयी हुनुभएको छ । त्यसैगरी आईतवार दिउँसो सम्मको मतपरिणाममा बर्दगोरिया गाउँपालिकाको वडानम्बर ६ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका रामकृष्ण डँगौरा थारु (रञ्जित) विजयी हुनुभएको छ । बर्दगोरिया गाउँपालिकामा आईतबार साँझसम्म प्रमुखमा एमालेले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ ।कैलालीको दक्षिण क्षेत्रमा रहेको भजनी नगरपालिकामा समेत वडाअध्यक्षको मतपरिणाम आउनु शुरु भएको छ । आईतवार दिउँसोसम्म वडा नम्बर ९ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सन्जिव चौधरीले ९१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा जम्मा दुई हजार ९२८ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो । गौरिगंगा नगरपालिकामा आईतबार साँझसम्म वडा नम्बर १ र २ को तीनहजार मतगणना भएको छ । प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको अग्रता रहेको बताउदै निर्वाचन अधिकृत निराजन पाण्डेले वडाको अन्तिम परिणाम आइनसकेको बताउनुभयो ।
विष्णुप्रसाद पोखरेलदमक, जेठ १ गते । झापाको दमकमा २ वटा वार्डको निर्वाचन मत परिणाम सार्वजनिक भएको छ । दमक १ मा नेकपा एमालेका प्यानल विजयी भएको छ भने दमक २ मा अध्यक्षमा गठबन्धनले जितेको हो ।दमक १ को वडाध्यक्ष हरी न्यौपाने र २ मा गठबन्धनको तर्फ उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका राजेन्द्र भण्डारी विजय हुनुभएको छ । नगर प्रमुखमा गठबन्धनका उम्मेदवार राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली काँग्रेसकी रेगिना भट्टराईले अग्रता लिइरहनु भएको छ ।यसैगरी, झापाको कमल गाँउपालिकामा १ र २ मा गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरुले विजय हासिल गर्नुभएको छ । कमल १ मा केदार कट्वाल र २ मा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा वडाध्यक्षमा विजयी हुनुभएको हाे ।
काठमाडौं, जेठ १ गते । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ९२ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।त्यसैगरी, ९६ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।२४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १४२ जना छन्।
काठमाडौं, जेठ १ गते। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सिजन कार्की १२ सय २५ मतसहित विजयी हुनुभएको छ। कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर थापा १२ मतले पराजित हुनुभयो। यसैगरी, नेकपा माओवादी केन्द्रका शिवहरि रोक्काले ६५, नेपाल मजदुर किसान पार्टीका चिनीकाजी अवालको ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक थापाको ३३१ र स्वतन्त्र उम्मेदवार भरतप्रसाद न्यौपानेको २२ मत प्राप्त भएको निर्वाचन अधिकृत कार्यालय, भक्तपुरले जनाएको छ।महिला सदस्यमा पनि कांग्रेसका मुना गुरुङ, दलित महिला सदस्यमा कांग्रेसका पुजा बर्ढेवा र अन्य दुई सदस्यमा पनि कांग्रेसकै गोविन्द श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ।मध्यपुर थिमी नगरपालिका-१ मा कांग्रेसका डंगोल विजयीभक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोल निर्वाचित हुनुभएको छ। सो पदमा नेकपा एमालेका कृष्ण गोपाल प्याठ भने करिब चार सय मतले पराजित हुनुभयो छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज कुमार बुढाथोकीको २२६, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीकुमार हेक्काको ४१ मत परेको छ। महिला सदस्यमा कांग्रेसका सरस्वती खड्का, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियार र सदस्यमा कांग्रेसका कान्छा राम द्वारे र नेकपा एमालेका श्याम कृष्ण प्रजापति निर्वाचित हुनुभएको छ।