• ८ जेठ २०८१, मङ्गलबार

निर्वाचन प्रभावित पार्न खोजिएको एमालेको आरोप

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १ गते। नेकपा (एमाले)ले स्थानीय निर्वाचन सुरु हुनु अगाडिदेखि, मतदान र मतगणना सम्मको कार्य प्रभावित पार्न खोजेको आरोप लगाएको छ। 

एमाले महासचिव शङ्कर पोखरेलले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै यस्तो आरोप लगाउनुभएको हो। 

मतदानको समयमा दोलखाको बैतेश्वर र तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचतौरा, अछामको साफेबगर, पञ्चदेवल, मङ्गलसेन, बझाङको छबिसपाथिभरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौ स्थानमा बुथ कब्जा गर्ने प्रयास भएको उल्लेख गरिएको छ। 

पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या गर्ने र ताप्लेजुङमा मृत्यु भएकाको पोष्टमार्टम समेत नगरिएको भन्दै एमालेले खेद प्रकट गरेको छ। 

यसैगरी, मतगणनाको क्रममा उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिह्नमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गठबन्धनलाई फाइदा पुग्ने गरी गरिएको आरोप एमालेको छ। 

यससँगै एमालेले मतगणना कार्य अनावश्यक ढिलो भइरहेको भन्दै मतदान छिटो छरितो र निष्पक्ष हुनुपर्ने माग गरेको छ।