गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रतिनिधित्व नभएको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रलाई केन्द्रित गरी समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो ।
रास्वपाले जिम्मेवारीसहित प्रतिनिधित्व गर्ने सांसदहरूको विस्तृत विवरण नाम, जिम्मेवारी, क्षेत्र तथा सम्पर्क नम्बर सार्वजनिक गरेको हो ।
सूची अनुसार रास्वपाले निर्वाचनमा पराजित भएका कोशी प्रदेशका पाँचथर, भोजपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु तथा मधेश प्रदेशका धनुषा, रौतहटलगायत जिल्लामा समानुपातिक संसद्लाई जिम्मेवारी तोकेको हो । त्यसै गरी बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, बाँके जस्ता जिल्लाका निर्वाचन क्षेत्रमा समानुपातिक संसद्लाई जिम्मेवारी तोकिएको छ । त्यसै गरी कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु, कालीकोट जस्ता दुर्गम जिल्लामा पनि प्रतिनिधि तोकिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ, डोटी, अछाम जस्ता जिल्लामा पनि फरक फरक समानुपातिक सांसदलाई जिम्मेवारी तोकिएको छ ।
जिम्मेवारी तोकिएका सांसदले नागरिकका गुनासा, सुझाव तथा स्थानीय समस्या प्रत्यक्ष रूपमा सम्बोधन गर्ने छन् । यस्तो अभ्यासले सरकार र जनप्रतिनिधिको पारदर्शिता बढाउनुका साथै जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।