गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य प्रतिष्ठान, काठमाडौँसँगको सहकार्यमा वैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
प्रगतिशील गीत/सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यले प्रगतिशील सङ्गीत उत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
समाजमा विद्यमान असमानता, विभेद, अन्याय तथा कुरीतिविरुद्ध सचेतना फैलाउने तथा समानता, समावेशिता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रगतिशील सङ्गीतले खेलेको भूमिका ऐतिहासिक रहेको प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले बताउनुभयो ।
प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महरा ‘प्रगति’ ले स्थापनाकालदेखि नै कला, संस्कृति, सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, संवर्धन र प्रवर्धनमा निरन्तर योगदान पु¥याउँदै आएको प्रतिष्ठानले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजको विविधतालाई सम्मान गर्दै त्यसको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
उत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै सहभागी प्रगतिशील क्षेत्रका कलाकारको सांस्कृतिक परिचय तथा विशेष साङ्गीतिक प्रस्तुति रहने छ । दोस्रो दिन संवाद, अन्तर्क्रिया, कार्यशाला तथा प्रगतिशील सङ्गीतका विविध आयाममा केन्द्रित प्यानल डिस्कोर्स गरी नेपालमा प्रतिशील सङ्गीतको भूमिका र महत्वको निष्कर्ष प्रस्तुत गरिने छ ।
उत्सवमा देशभरका प्रगतिशील गीत/सङ्गीतका अग्रज कलाकार, उदीयमान प्रतिभा, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका उपकुलपति शम्भु राईले बताउनुभयो । रोल्पाको थवाङ गाउँपालिकामा आयोजना हुन लागेको उत्सवले स्थानीयस्तरमा मात्र नभई राष्ट्रियस्तरमा पनि विशेष महत्व राख्ने छ ।
ऐतिहासिक, सामरिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थानका रूपमा चिनिएको रोल्पा प्रगतिशील विचार र सामाजिक चेतनाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ । त्यसैले यस स्थानमा आयोजना हुन लागेको उत्सवले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप सुदृढ बनाउने विश्वास गरिएको छ । यस उत्सवले स्थानीय कलाकारको क्षमता अभिवृद्धि गर्नुका साथै संस्कृतिको क्षेत्रमा सम्भावनाका ढोका खुल्नुका साथै पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।