• ९ वैशाख २०८३, बुधबार

४४ वर्ष पुरानो पुल जोगाउन मोटरसाइकल सञ्चालनमा रोक

blog

प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुलमा मोटर साइकलमा आवतजावत । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख ९ गते ।
प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुलमा मोटर साइकलमा आवत जावतको लागि रोक लगाइएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदी माथि यस यस पुलमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले दशकौँ अघि निर्माण भएको पुल जीर्ण बन्दै गएको र सम्भावित दुर्घटनाको जोखिम बढेको निष्कर्ष निकाल्दै यस्तो निर्णय लिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार उक्त पुलको स्थलगत निरीक्षण गर्दै पुलको संरक्षणका लागि मोटरसाइकल आवतजावत पूर्ण रूपमा बन्द गराउन प्रहरीलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम बन्द  गरिएको हो ।

वि.सं. २०३७ सालमा पैदल यात्रीका लागि मात्र डिजाइन गरी निर्माण गरिएको यस पुलमा पछिल्लो समय अनियन्त्रित रूपमा मोटरसाइकल गुड्न थालेपछि यसको आयु छोटिँदै गएको प्राविधिकहरूको ठहर छ । वैकल्पिक बाटोको रूपमा ठिमुरामा मोटरेबल पुल बनिसकेकाले हाल सवारी साधनमा देवघाट जान समस्या नरहेको उल्लेख गर्दै प्रजिअ अर्यालले अब उप्रान्त मोटरसाइकल छिर्न नमिल्ने गरी पुलको मुखमै स्थायी प्रकृतिको संरचनागत प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

यसअघि २०८२ मङ्सिर २५ गते शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन वृज डिभिजनले समेत पत्राचार गरी यो पुलमा मोटरसाइकल रोक लगाउन अनुरोध गरेको थियो । केही समय रोक लगाइए पनि पुनः सञ्चालनमा आएकाले यस पटक भने प्रशासनले कडाइका साथ भौतिक अवरोध नै खडा गर्ने तयारी गरेको हो ।

निर्माण भएको ४४ वर्ष पुगिसकेको यो पुल अत्यन्तै जीर्ण भइसकेको र एकै पटकमा सयौँ व्यक्तिहरूले वारपार गर्दा पिङ झैँ हल्लिने गरेको स्थानीयको गुनासो छ । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलका अनुसार दैनिक पाँच हजारभन्दा बढी र धार्मिक मेलाहरूमा २५ हजारसम्म भक्तजनले प्रयोग गर्ने यो पुलमा केही भइहाले ठुलो मानवीय क्षति हुने खतरा छ । निर्माण भएयता करिब ३ करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेको दाबी गर्दै उहाँले अब राज्यले यसको विकल्पमा तत्काल मोटरेबल पुलको सोच अघि बढाउनुपर्ने बताउनुभयो । देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले भरतपुर आउन प्रयोग गर्ने यो छोटो दूरीको मार्गमा देखिएको जोखिमप्रति स्थानीय जनप्रतिनिधिहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले वर्षेनी मर्मत सम्भार मात्र गरेर नहुने भन्दै यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्वलाई मध्यनजर गर्दै सङ्घीय वा प्रदेश सरकारले पक्की पुलको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । हाललाई मोटरसाइकल रोक लगाउने निर्णय सकारात्मक भए पनि दीर्घकालीन समाधानका लागि पक्की पुल नै अपरिहार्य देखिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.ईश्वरीराज लौडारी बताउनुहुन्छ ।