नेपाल कहिल्यै पराधीन नभएको स्वतन्त्र मुलुक हो । हाम्रा पुर्खाले शत्रुलाई पराजित गर्दै वीरता र बहादुरीसाथ मुलुकको रक्षा गरेकाले आज नेपाली हुनुमा गर्व छ । शिर ठाडो पारेर स्वाभिमानीपूर्वक बाँच्न पाउने यो अवस्था बनाउन पुर्खाले धेरै रगत पसिना बगाए । कहिल्यै दासत्व र पराधीनता स्विकारेनन् । यसमा हाम्रो गर्विलो इतिहास साक्षी छ । यस्तो इतिहास बनाउन गढी किल्लाको महत्वपूर्ण स्थान छ । नेपाल एकीकरण होस् वा अङ्ग्रेजसँगको युद्ध या तिब्बतसँगको युद्ध; ती युद्धमा गढी किल्लाहरू नै प्रयोग गरिएका थिए । गढी किल्लाको सही व्यवस्थापनबाटै दुस्मनविरुद्धको लडाइँमा सफलता मिल्यो । नेपालका विभिन्न १७ वटा जिल्लामा यस्ता २२ वटा गढी किल्ला छन् । गढी किल्ला भएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, रसुवा, सिन्धुली, इलाम, धनकुटा, भोजपुर, उदयपुर, मकवानपुर, लमजुङ, चिसापानी, चितवन, रुपन्देही, कलिपवस्तु, दैलेख र डडेलधुरा हुन् । त्यहाँ रहेका गढी किल्लामा दुगुनागढी, दहचोकगढी/खलङ्गा, बेलकोटगढी, नुवाकोटगढी, पौवागढी, सिन्धुलीगढी, गढीथुम्का, साँघुरीगढी, हतुवागढी, चौदण्डीगढी, हरिहरपुरगढी, मकवानपुरगढी, राइनास/राइनासकोट, लिगलिगकोटगढी, चिसापानीगढी, उपरदाङगढी, जितगढी, स्युराजगढी, कोतगढी/कोतकिल्ला र अमरगढी छन् । यी गढी किल्ला नेपालको ऐतिहासिक घटनाक्रमका साक्षी हुन् । यिनले कुनै न कुनै ऐतिहासिक घटना सम्झाउँछन् । नेपाली सेनाले लामो समयदेखि गढी र किल्लाको संरक्षण गर्दै आएको छ । ऐतिहासिक महत्वका यी गढी किल्लालाई पर्यटनसँग जोड्नु आवश्यक छ । यसो गरिए पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने छ ।
केही समयअघिसम्म रुपन्देहीमा रहेको ऐतिहासिक जितगढी किल्ला ओझेलमा थियो । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्लानजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरु भयो । केही समयमै अतिक्रमण तीव्र भयो र किल्ला नै छोपिने अवस्थामा पुग्यो । बुटवल उपमहानगरपालिकाले विशेष चासो देखाएर यसको संरक्षण, प्रवर्धन र विकासका लागि अभियान नै चलायो । बुटवल–१ स्थित यो जितगढी किल्ला ऐतिहासिक वीरताको प्रतीक मात्र होइन, अहिले आधुनिक संरचनासहित आकर्षक पर्यटकीय गन्तव्य बन्दै छ । तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरी गौरवपूर्ण इतिहास बोकेको यो किल्ला पुनर्संरचना र संरक्षणका कारण नयाँ स्वरूपमा देखिएको छ ।
विसं १८७१–७२ मा इस्ट इन्डिया कम्पनीसँग भएको युद्धमा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले यही क्षेत्रमा ऐतिहासिक विजय हासिल गरेको थियो । उक्त विजयले नेपाललाई उपनिवेश विस्तारबाट जोगाएको हो । यही ऐतिहासिक पृष्ठभूमि उजागर गर्दै बुटवल उपमहानगरपालिकाले किल्लालाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजना अनुसार काम अघि बढाएको छ । अहिले जितगढीलाई राष्ट्रियस्तरकै नमुना गन्तव्य बनाउने लक्ष्यसहित संरचनात्मक तथा सौन्दर्यीकरणका काम तीव्र पारिएको छ । हाल किल्लापरिसरमा नौ फिट अग्लो उजिरसिंह थापाको पूर्णकदको तामाको सालिक र ५५ फिट अग्लो टावरमा राष्ट्रिय झन्डा फहराइएको छ । किल्लाभित्र प्रवेश गर्दा कलात्मक प्रवेशद्वार र त्यससँगै लस्करै राखिएका सहिद सैनिकको अर्धकदका सालिकले इतिहासलाई जीवन्त बनाएको छ । अङ्ग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका १३ जना सैनिक अम्बर अधिकारी, वृषसुर थापा, कृपासुर थापा, सुर्जे थापा, भीमसेन देउजा, सुरवीर बोहोरा, रणसुर बानियाँ, हंसवीर अधिकारी, नकुल बानियाँ, दलखम्ब थापा, वीरमञ्जन पाँडे, जुठे बस्नेत र शमशेर रानामगरको सम्मानमा निर्माण गरिएका सालिकले किल्लाको ऐतिहासिक महत्वलाई अझ सशक्त बनाएको छ ।
किल्लामा भएको अतिक्रमण हटाएर उपमहानगरपालिकाले किल्लाको मौलिक स्वरूप संरक्षण गरेको छ । हालसम्म आठ करोड १२ लाखभन्दा बढीको लागतमा विभिन्न संरचना निर्माण सम्पन्न भइसकेका छन् । यसअघि प्रारम्भिक चरणमा ५० लाख र त्यसपछिका वर्षमा थप एक करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । जितगढीमा नेपाल–अङ्ग्रेज युद्धको समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ वैशाख ७ का दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको २०७४ चैत २६ मा बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको थियो । त्यसयता हरेक वर्ष जितगढी उत्सव मनाइँदै आएको छ । किल्ला क्षेत्रमा दैनिक सरसफाइ, सूचना बोर्ड, ऐतिहासिक तस्बिर, नक्सा तथा पुरानो नेपाल झल्काउने सामग्री राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई इतिहास बुझ्न सहज बनाएको छ । गुरुयोजना अनुसार आगामी चरणमा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजारका रूपमा पुनर्जीवन दिने तथा किल्लालाई मणिमुकुन्द सेन दरबार र नुवाकोटगढीसँग जोड्ने योजना अघि बढाइएको छ । ऐतिहासिक पहिचान जोगाउँदै आधुनिक पर्यटकीय पूर्वाधार थपिँदा जितगढी किल्ला लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै छ ।