कैलालीस्थित चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजीत गरी बोगटी अध्यक्षमा विजयी हुनुभएको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो । अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनार्जन खत्री सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।
राधाकृष्ण डुम्रे वालिङ, जेठ २ गते । स्याङ्जाको कालीगण्डकीमा एमालेले जितेको छ । कालीगण्डकीमा एमालेले अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अध्यक्षका उमेदवार खिम थापाले ६ हजार ७ सय मतसहित बिजयी हुनुभएको हो । थापाले गठबंधनका उमेदवार माया रानालाई पराजित गर्दै बिजयी हुनुभएको हो । उपबिजेता रानाले ५ हजार ५५ मत ल्याउनु भएको छ । थापा र रानाको मतान्तर १६४५ रहेको छ । त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार साबित्रा कोईरालाले निर्वाचित हुनु भएको छ । कोईरालाले ६ हजार २२३ मत ल्याउदा उहाँका प्रतिस्पर्धी गठबंधनका जनमुक्तिका बम लामिछानेले ४ हजार ८३० मत ल्याउनुभएको छ । उहाँहरुको मतान्तर १ हजार ३९३ रहेको छ । वडा रहेको कालीगण्डकीमा १, ३, ६ मा एमालेकाे र २, ४, ५,७ मा काँग्रेसले जितेको छ ।
भोटराज राईउदयपुर, जेठ २ गते । उदयपुरमा मगगणनाको अन्तिम परिणाध धमाधम आउन थालेपछि विजय उत्सवको लहर बढेको छ । आठ स्थानीय तह मध्ये एउटा पालिका र विभिन्न वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भएसँगै विजय जुलुस, सभा, र्यालीको सुरुवात भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट जीत भएको छ । सो पालिकाको अध्यक्षमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई, उपाध्यक्षमा गठबन्धनकै नेपाली काङ्ग्रेसका पुष्पलाल राई, १ नं. वडाध्यक्षमा जनदिप मगर, २ नं. मा जितेन राई, ३ नं. गुरुमणी कुमाई, ४ नं. मा क्षत्र राई र ५ नं. मा बसन्त राईको विजय हाँसिल भएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनको र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । सो पालिकामा विजय उत्सव मनाइएको छ । वडावडामा विजय उत्सव कार्यक्रम आज राखिएको छ । गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप्ली, उदयपुरगढी, रौतामाईका विभिन्न वडाको जीतमा विजय उत्सव मनाइदैछ । जनताले पाँचवर्षको विकासको बाटो कोर्नका लागि चुनेको जनप्रतिनिधिको विजयको खुसीयालीमा फुलमाला, अबिरले सजाउने गरेका छन् । हालसम्म २० वटा जति वडाहरुको अन्तिम परिणाम आइसकेको छ । वडा नेतृत्वमा गठबन्धनको अग्रस्थान रहेको छ ।
तनहुँको भानु नगरपालिका–१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।
इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्रीले देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको हो ।
गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमालेका टीकाराम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ६ हजार २६७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पारीश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गर्नुभएको हो ।
मानेभञ्ज्याङ्ग गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी हुनुभएको छ । नेपाली काँग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दालीले पाँच हजार २१ मत ल्याएर विजयी हुनुभएको हो ।
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ २ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ र ११ को वडा अध्यक्षको सोमबार विहान अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका घनश्याम ओझा विजयी हुनुभएको छ भने वडा नम्बर ११ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार दानसिंह जोगी विजयी हुनुभएको छ । उहाँले ६७२ मत प्राप्ता गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो । जोगीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका उम्मेदवार राजकुमार कठरियाले ६६९ मत प्राप्त गर्नुभयो । तीन मतको अन्तरले जोगी विजयी हुनुभएको छ । वडा सदस्यमा एक जना जसपाबाट र अन्य तीन जना कांग्रेसबाट विजयी हुनुभएको छ । हारे भनेर घर गएका जोगी एक्कासी जितेको खबर सामाजिक सञ्जालबाट पाएलगतै खुशी हुदै मतगणनास्थल पुग्नुभएको थियो । यसअघिको चुनावमा समेत उक्त वडामा जोगी विजयी हुनुभएको थियो । यता कांग्रेसले वडा नम्बर ११ को पुनः मतगणनाको माग राख्दै प्रदर्शन गरेको छ । मतपरिणाम सार्वजनिक नहुदै कांग्रेसका उम्मेदवार कठरियाको जितको हल्ला चलेको थियो । गौरीगंगामा समाजवादी र कांग्रेसले खाता खोल्यो त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकामा सोमवार विहान २ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा कांग्रेसका डबलबहादुर दियाकोटी र वडा नम्बर २ मा नेकपा समाजवादीका जनकबहादुर साउँद विजयी हुनुभएको छ ।समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको उक्त नगरपालिकामा साउँदले ६९३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६७९ मत प्राप्त गर्नुभएको छ । एक खुल्ला सदस्य बाहेक तीन सदस्यमा समेत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा विजयी दियाकोटीले एक हजार १३१ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धीकोरुपमा रहनुभएका नेकपा एमालेका जुद्धबहादुर साउँदले ८२५ मत प्राप्त गर्नुभयो ।
अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बालकुमार मल्ल विजयी हुनुभएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हाइस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जादै गरेको राजेन्द्रसिंह बिष्टको नाममा रहेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर–६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपाललगायत विश्वभर धुमधामका साथ मनाइएको छ । नेपालको लुम्बिनी प्रदेशको लुम्बिनीस्थित तिलाराकोटको राजदरबारमा आजभन्दा २५६६ वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको एक्लो सन्तानको रुपमा जन्म भएको हो । ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो ।