• ८ वैशाख २०८१, शनिबार

मानेभञ्ज्याङ्ग अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजयी

blog

शेरबहादुर राई 

ओखलढुङ्गा,  जेठ २ गते । मानेभञ्ज्याङ्ग गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी हुनुभएको छ । नेपाली काँग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दालीले पाँच हजार २१ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङ्गलाई १२ सय छ मतले पछि पार्दै रुम्दाली विजयी हुनुभयाे । तामाङ्गले तीन हजार आठ सय १५ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार आश्रचन राई विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका दिपेन्द्र रुम्दालीलाई दुई हजार एक सय ७३ मतले पछि पार्दै उपाध्यक्षमा विजयी हुनुभएको हो । राईले चार हजार सात सय ५० मत प्राप्त गर्नुभएको छ भने रुम्दालीले दुईहजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदेवार चम्पा राईले ६०४ मत प्राप्त गर्नुभएको छ ।

मानेभञ्ज्याङ्गमा नेपाली काँग्रेसले स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली सँग गठबन्धन गरेको थियो भने नेकपा एमाले र जनता समाजवादी विच चुनावी तालमेल भएको थियो । 

नौ वडा रहेको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सात वडामा नेपाली काँग्रेसले जितेको छ । दुई वटामा नेकपा एमालेले वडा अध्यक्ष जितेको हो । वडा नं.३ जितेन्द्र राई र वडा नं.९ मा पुर्णबहादुर मगरले नेकपा एमालेबाट विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय मानेभञ्ज्याङ्गले जनाएको छ । 

प्राप्त विवरण अनुसार नेपाली काँग्रेस तर्फ मानेभञ्ज्याङ्ग गाउँपालिका–१ बाट राजकुमार रुम्दाली, २ मा राममणी राई, ४ मा विष्णु तामाङ्ग, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, ७ मा विष्णुप्रसाद गौतम र वडा ८ मा भिमबहादुर बलाम्पाकी मगर विजयी हुनुभएको छ ।