धादिङ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५३ पिन्ट रगत सङ्कलन भएको छ । गत वर्षको साउन १ गतेदेखि शनिबारसम्ममा ३८ वटा सङ्घ, संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ५२३ जना महिलासहित दुई हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक ल्याइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ । सरकारका तर्फबाट विधेयक शुक्रबार प्रतिनिधि सभामा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा भूतपूर्व एक मन्त्रीसहित १५५ जना विरुद्ध भ्रष्टाचारको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो आर्थिक वर्षमा सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सो कुरा उल्लेख गर्नुभएको हो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितको लागि एक सय २९ रनको झिनो लक्ष्य दिएको छ । टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनायो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा वैदेशिक चलखेल बढेको बताउनुभएको छ । मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, र राजनीतिक अस्थिरता बढेको उहाँले दावी गर्नुभएको छ ।
स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि सात सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिन लागिएको बताउनुभयो ।
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।
कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनु भएको छ ।
जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर १४३ किसानलाई भत्ता दिईएको हो ।
काठमाडौं, साउन १ गते । गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको 'दुधको साक्षी बिरालो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युवच्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा उहाँलाई चर्चित गायिका मेलिना राईले साथ दिनुभएको छ । गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ । दिपक शर्माले संगीतवद्ध गर्नुभएको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माकोबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोमा नवराज उप्रेतीले छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। यस्तै, गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो । यसअघि गायक क्षेत्रीको स्वरमा रहेको 'जाऊ हिँड', 'दिल खोलेर भनन' लगायत भिडियोहरु सार्वजनिक भइसकेका छन् ।
काठमाडौं, साउन १ गते। उपसभामुख पुष्पा भुसाल (गौतम)ले पदभार ग्रहण गर्नुभएको छ।आइतबार सिंहदरबारमा पदबहाली गर्नुहुँदै उपसभामुख भुसालले छोटो समय भए पनि आफ्ना लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको हो।‘‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु’’, पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु ।’’ उहाँले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गर्नुहुँदै छोटो समय महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।‘‘सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मेरो जिम्मेवारी रहेको छ । मलाई जति समय छ त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण छ’’, उहाँले भन्नुभयो।आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शपथ लिए लगत्तै उहाँ पदभार ग्रहणका लागि सिंहदबार पुग्नुभएको हो।भुसाल असार ३१ गते प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो।