• १ असार २०८१, शुक्रबार

भृकुटी मण्डप आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाण

blog

गृहमन्त्री बालकृष्ण खाण समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागी क्षाेत्रकाे अवलाेकन गर्नुहुँदै । तस्बिर : गृहमन्त्रीकाे निजी सचिवालय

गाेरखापत्र अनलाइन

काठमाडौँ,  साउन १ गते । गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनु भएको छ । 

गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताउनु भएको हो । 

आगलागीमा परिषद अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगता भएका व्यक्तिका लागि राखेका सहायक सामग्री पनि जलेका थिए । अपांगता भएकाहरूका सहायक समाग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाणले बताउनु भयो । 

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्न लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहायक सामग्री उपलब्ध गराउँछौं ।’’

उहाँले प्राधिकरणले उपलब्ध गराउने सहायक सामग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिनुभयो । 

अवलोकनका क्रममा उहाँले आगलागी भएको स्टोर, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगहरूका लागि सहायक सामग्री निर्माण गर्ने स्थान र कुन अपांगलाई के सहायक सामग्री आवश्यक पर्छ भनेर जाँच गर्ने स्थानको समेत अवलोकन गर्नुभयो । 

गृहमन्त्री खाणलाई कोषका सभापति डेकराज भट्टराईले आगलागी, कोष र सहायक सामग्री निर्माणबारे जानकारी गराउनुभएको थियो । 

उहाँसँग गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत अवलोकन गर्न पुग्नुभएको थियो । 

स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।