यदुप्रसाद भट्ट
मनाङ, कात्तिक २४ गते । हालैको ठूलो हिमपातपछि केही दिन सुस्त बनेको मनाङको पर्यटन गतिविधि पुनः सामान्य गतिमा फर्किन थालेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ पर्यटक चेकपोस्टले पछिल्ला केही दिनयता दैनिक रूपमा २७० जनाभन्दा बढी विदेशी पर्यटकले नाम दर्ता गरेको जनाएको छ ।
चेकपोस्टमा प्राप्त तथ्याङ्कअनुसार कात्तिक २० गते १९६ जना, कात्तिक २१ गते २८६ जना, कात्तिक २२ गते २९७ जना र कात्तिक २३ गते २६८ जना पर्यटकले दर्ता गरेका छन् । यो दैनिक तथ्याङ्कले पनि हिमपातका कारण केही समय रोकिएको पर्यटन गतिविधि पुनः सामान्य अवस्थामा फर्किएको देखाउँछ ।
हिमपातका कारण केही दिनसम्म पदयात्रा मार्गमा हिउँ र चिसोको असरले आवतजावत प्रभावित बनेको तर अहिले मौसम स्थिर बनेसँगै पदयात्रा मार्गहरू खुल्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पर्यटकहरूको आगमन पुन: उत्साहजनक रूपमा बढेको छ । हिमपातपछि केही दिन पर्यटक कम थिए, अहिले त फेरि हिजोजस्तै चहलपहल बढेको छ ।”
मनाङका होटल व्यवसायी फुर्वा लामाले हाल अधिकांश होटलहरू पुनः बुकिङले भरिएको बताउनुभयो । मनाङ नेपालको चर्चित अन्नपूर्ण परिक्रमा पदमार्गमा पर्ने भएकाले यहाँको पर्यटन गतिविधिले राष्ट्रिय पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
हिमाल, उपत्यका र स्थानीय आतिथ्यका कारण यो क्षेत्र सधैंजसो विदेशी पर्यटकहरूको रोजाइमा रहँदै आएको छ । धारापानी चेकपोस्टका कर्मचारी भूपेन्द्रजङ्ग गुरुङले हिमपातपछि यात्रा कठिन भए पनि अब बाटोहरू सुरक्षित रहेकाले यात्रुले मौसमअनुसार तयारी गरेर यात्रा गरेमा कुनै समस्या नहुने बताउनुभयो ।
एक्यापले उच्च भूभागमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएको छ । यात्रुहरूलाई पर्याप्त तातो लुगाकपडासहित समूहमा यात्रा गर्ने सुझाएको छ ।
मनाङको हिमाली वातावरण, स्थानीय आतिथ्य र हिउँले ढाकिएका दृश्यले अहिले फेरि पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । हिमपातपछि पुनः जागेको पर्यटन गतिविधिले स्थानीय अर्थतन्त्रमा नयाँ उत्साह भरेको छ ।