• ३ जेठ २०८१, बिहिबार

मुलुकमा वैदेशिक चलखेल बढ्यो : महासचिव पोखरेल

blog

गोरखापत्र अनलाइन

पोखरा, साउन १ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा वैदेशिक चलखेल बढेको बताउनुभएको छ । मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, र राजनीतिक अस्थिरता बढेको उहाँले दावी गर्नुभएको छ ।  

आईतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उहाँले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सरकारबाट नभएको टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले मुलुकमा राजनीतिक धु्रबीकरणको आवश्यक्ता रहेको दोहो¥याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ । यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।’ समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन पनि राजनीतिक धुब्रीकारण अनिवार्य भइको उहाँले बताउनुभयो । 

मुलुकमा धेरै राजनीतिक दलको आवश्यक्ता पनि नरहेको महासचिव पोखरेलको भनाइ छ । मुलुकलाई सामाजिक न्यायसहितको लोककल्याणकारी बाटोतर्फ लैजाने कि समाजलाई उदार पूँजीवादको बाटोबाट बुर्जुवाकरण गर्ने ? मुलुकसामु दुई बाटो रहेको उहाँले बताउनुभयो । यसको छनौट नेपाली जनताले गर्नुपर्ने पोखरेलले चर्चा गर्नुभयो ।

महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालोधनलाई सेतो बनाउन गरेको गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भइरहेको पनि दावी गर्नुभयो ।