• १३ साउन २०८१, आइतबार

दुई हजार पिन्ट रगत सङ्कलन

blog

धादिङ, साउन २ गते । धादिङ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५३ पिन्ट रगत सङ्कलन भएको छ । गत वर्षको साउन १ गतेदेखि शनिबारसम्ममा ३८ वटा सङ्घ, संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ५२३ जना महिलासहित दुई हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङमा अभियानकै रूपमा रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । जिल्लामा रगतको अभावलाई न्यूनीकरण गर्न विभिन्न मेला, पर्व, उत्सव, सहकारीको वार्षिक साधारण सभालगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखेर धादिङमा रगत सङ्कलन गरिँदै आएको छ । विशेष गरी दुर्घटनामा परेका घाइते तथा बिरामीलाई सहजै रगत उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको श्रेष्ठले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङले यस वर्ष पाँच हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि कोरोना सङ्क्रमणको जोखिमलगायत विविध कारणले रक्तदान कार्यक्रम न्यून हुँदा सङ्कलनमा कमी आएको श्रेष्ठको भनाइ छ । रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ । रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका लागिआएका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामीलगायतले राहत पाएको श्रेष्ठ बताउनुहुन्छ ।

नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि जिल्लाको विभिन्न गाउँ तथा नगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन् । यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने सेवा शुल्क उपलब्ध गराउने गरेका छन् ।