• ७ जेठ २०८१, सोमबार

नक्कली छाप र दस्तखतमा किर्ते गर्ने अर्याल पक्राउ

blog

नक्कली छाप र दस्तखतमा किर्ते गरेपछि पक्राउ परेका वाशुदेव अर्याल । तस्बिर : महानगरीय प्रहरी परिसर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १ गते । कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।

अर्यालले प्युठानको प्युठान नगरपालिका–४ स्थायी घर भई हाल सीतापाइला बस्ने प्रकाश राज भण्डारीले सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नामको नक्कली छाप र दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट १० लाख ३५ हजार रुपियाँ निकाली रहेको अवस्थामा प्रहरीले असार ३१ गते पक्राउ गरेको हो । 

असम्बन्धित व्यक्तिले रुपियाँ निकाली रहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अर्यालमाथि अनुसन्धान गर्दा भण्डारीको दस्तखतसहितको चेक फेला पारी नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएर प्रयोग गरेको र थप चेकबुक समेत निकालेको देखिएको छ । 

सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम अर्यालले निकालेको भेटिएको अनुसन्धानमा खुलेको छ भने, तीखोकलम डट कम नामक सञ्चार संस्थाको परिचय पत्रसमेत अर्यालसँग रहेको छ । 

निज अर्यालले आठ थान विभिन्न कम्पनी तथा संस्थाको छाप, आठ थान (नोट बुक) दस्तखत अभ्यास गरिएको डायरी, १६ थान सिमकार्ड, दुई थान मोबाइल लगायतको समानसहित फेला परेका अर्यालमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को दफा–२४९ ‘ठगी सम्बन्धी कसुर’ मा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी प्रहरी बृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।