• १३ साउन २०८१, आइतबार

स्वास्थ्यमा क्रियासिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने

blog

स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको छलफलमा सहभागीहरु । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता 

काठमाडौं,साउन १ गते । स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि सात सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिन लागिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ । कार्यदलले समस्यामात्र होइन मन्त्रालयलाई सुझावपनि दिनेछ । कार्यदलबाट तत्काल के गर्न सकिन्छ? दिर्घकालीन के गर्न सकिन्छ र? ठोस योजना बन्नेछ । त्यहि अनुसार अघि बढ्न सकिन्छ ।’ उहाँले स्वास्थ्यका समस्या हल गर्न मन्त्रालय सदैव तयार रहेको पनि बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनसँग सँगै रहेर काम गर्दै आएको बताउनुभयो । डा.पोखरेलले आफ्ना हकहित सँगै जनतासँग जोडिने गरी काम गर्नुपर्ने बताउनुभयो । 

स्वास्थ्यमा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहनुभएका नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले स्वास्थ्य कर्मीको माग सम्बोधनमा सरकार गम्भिर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताउनुभयो । स्वास्थ्यमा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले  विगतमा भएको १९ बुँदे सम्झौता अक्षरस पालना हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘स्वास्थ्यमा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठन र मन्त्रालयका अधिकारीबीच स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, स्वास्थ्यलाई संघमा राख्ने, समायोजन लगायत बिविध विषयमा सम्झौता भयो । ती सम्झौता कार्यान्वयन हुनुपर्ने देखिन्छ ।’

सहभागी सरोकारवालाले कानुन सम्मत भएको स्तरबृद्धि किन बदर भयो ? भन्दै प्रश्न गरे । यस्तै, स्वास्थ्यका कर्मचारीको अभिलेख नभएको गुनासो गरे । स्वास्थ्य सेवा ऐन अलग्गै हुनुपर्ने सहभागीको जोड थियो । स्वास्थ्य राज्य मन्त्री केसीको पहलमा स्वास्थ्य मन्त्रालयमा आइतबार क्रियासिल स्वास्थ्यकर्मीहरुसँग छलफल भएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. संगीता कौशल मिश्राले गर्नुभएको थियो ।