• १३ साउन २०८१, आइतबार

छोटो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण छ : उपसभामुख भुसाल

blog

पदभार ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै उपसभामुख पुष्पा भुसाल (गौतम)।तस्बिर : संघीय संसद सचिवालय

काठमाडौं, साउन १ गते। उपसभामुख पुष्पा भुसाल (गौतम)ले पदभार ग्रहण गर्नुभएको छ।आइतबार सिंहदरबारमा पदबहाली गर्नुहुँदै उपसभामुख भुसालले छोटो समय भए पनि आफ्ना लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको हो।

‘‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु’’, पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु ।’’ 

उहाँले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गर्नुहुँदै छोटो समय महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।

‘‘सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मेरो जिम्मेवारी रहेको छ । मलाई जति समय छ त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण छ’’, उहाँले भन्नुभयो।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।  शपथ लिए लगत्तै उहाँ पदभार ग्रहणका लागि सिंहदबार पुग्नुभएको हो।

भुसाल असार ३१ गते प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो।