जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, उपचार र राहतका लागि विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लाबाट आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील बनाउने निर्णय समितिले गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोटबाट रुकुम पश्चिम पुग्नुभएको छ । प्रधामन्त्री प्रचण्ड शुक्रबार राति भएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुग्नुभएको हो ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको प्रारम्भिक उपचारका लागि बाँकेका स्थानीय तहले औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएका छन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
नेकपा (एमाले) ले आज दसैँ, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ ।
जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना घाइते भएका छन् । स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतम र उहाँको ११ महिनाको छोरा आयुष गौतम सामान्य घाइते हुनुभएको छ ।
नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ ।
जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुः ख व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका मन्त्री रामबहादुर रानामगरले पदबाट राजीनामा दिनुभएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
जाजरकोटको भूकम्पमा परेर गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज पुग्ने क्रम सुरु भएको छ। एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याइएको हो।
नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।