• १२ साउन २०८१, शनिबार

भूकम्पले घर भत्काएका ठाउँमाबाहेक अन्य ठाउँमा विद्युत सुचारु

blog

काठमाडौ, कात्तिक १८ गते । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ ।

भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताउनुभयो । यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गर्नुभयो ।

उहाँले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताउनुभयो ।