• ६ जेठ २०८३, बुधबार

फिर्केखोला ‘खोज्दै’ पोखरा महानगर

blog

फिर्केखोलाको बहाव क्षेत्रमै बनाइएका संरचना । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ६ गते ।
पोखरा महानगरपालिकाले महानगरको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमण हटाउने तयारी गरेको छ । करिब आठ किलोमिटर लामो यो खोला महानगरका आठ वटा वडा हुँदै फेवातालमा मिसिन्छ । कतै फराकिलो देखिने खोला कतै यति साँघुरिएको छ कि ह्युमपाइप राखेर त्यसमाथि संरचना निर्माण गरिएका छन् । हिउँदमा त कतिपय स्थानमा खोला नै खोज्नुपर्ने अवस्था छ ।

खोला अतिक्रमण गरी भवन तथा अन्य संरचना निर्माण हुँदा एकातिर जोखिम बढेको छ भने अर्कोतिर फोहोर, ढुङ्गा र माटो फेवातालमा पुगेर तालसमेत पुरिँदै गएको छ । पहिलो चरणमा महानगरले खोलाको बहाव क्षेत्र (खोलाघर) खाली गर्ने भएको छ ।

महानगर प्रमुख धनराज आचार्यले खोलाको बहाव नै बन्द गरेर बनाइएका संरचना पहिलो चरणमा हटाइने जानकारी दिनुभयो । महानगरले दुई वर्षअघि नै फिर्केखोलाको खोलाघर क्षेत्रमा पोल गाडिसकेको छ ।

“खोलाको घर नै बन्द गरी बनाइएका संरचना हटाउन सूचना निकाल्दै छौँ,” प्रमुख आचार्यले भन्नुभयो, “खोलाघरभित्र संरचना छन् भने ३५ दिनभित्र हटाइदिनुहोस् । अन्यथा हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्नेछ ।”

खोलाघरमा बसोबास गर्दै आएका करिब ४० सुकुम्बासी परिवारलाई भने सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । प्रमुख आचार्यले भन्नुभयो, “त्यसबाहेकका अन्य संरचना हट्नुपर्छ । स्वेच्छाले नहटे नियमअनुसार प्रक्रिया अघि बढ्छ ।”

महानगरले पछिल्लो पटक जारी गरेको खोलासम्बन्धी मापदण्डअनुसार फिर्केखोलाको चौडाइ न्यूनतम छ मिटर कायम गरिएको छ । हाललाई खोलाघर खाली गर्ने र दोस्रो चरणमा मापदण्डभित्र बनेका संरचना हटाउने तयारी गरिएको छ ।

महानगरले गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार खोलाघर क्षेत्रमा मात्रै एक सय ६० भन्दा बढी संरचना निर्माण भएका छन् ।

यसअघि २०८० साल साउन १० गते महानगरले ३५ दिने सूचना जारी गरी फिर्केखोलाको खोलाघर खाली गर्ने प्रयास गरेको थियो । स्थानीयले अदालतमा मुद्दा दायर गरेपछि रोकिएको काम अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः सुरु गर्न लागिएको हो ।

पोखरा–१८ अधेरीकुनादेखि पोखरा–२, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलामा महानगरले गठन गरेको सीमाङ्कन टोलीको प्रतिवेदनले खोलाघर मिचेर एक सय ६० अस्थायी तथा स्थायी संरचना बनेको देखाएको छ ।

पोखरा महानगरपालिका–८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयका दुई भवन खोलाघरमै परेको देखिएको छ । पोखरा–८ मै रहेको पोखरा इन्जिनियरिङ कलेजको एउटा भवन पनि फिर्केखोलाको बहाव क्षेत्रमा रहेको उल्लेख छ । त्यसैगरी १८ वटा सङ्घसंस्थाका स्थायी संरचना पनि खोलाघर मिचेर निर्माण गरिएका छन् ।

कतिपय संरचना पूर्णरूपमा खोलाघरभित्र बनेका छन् भने केही संरचनाको आंशिक भाग मात्रै खोलाघरमा परेको छ । प्रतिवेदनअनुसार खोला मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० सङ्घसंस्थाका अस्थायी तथा १८ सङ्घसंस्थाका स्थायी संरचना निर्माण भएका छन् ।

त्यहाँ रहेका घर, समाजघरलगायतबाट फोहोर वस्तु, फोहोर पानी तथा ढलसमेत खोलामै फाल्ने गरिएको छ । खोलाघरमै बनेका संरचनामा वडा, महानगर, प्रदेश र सङ्घीय सरकारले समेत लगानी गरेको देखिएको छ ।

महानगरको सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ पोल गाडेको थियो । पोल गाड्न सम्भव नभएका स्थानमा इनामेलले चिन्ह लगाइएको भए पनि अधिकांश चिन्ह मेटिइसकेका छन् ।

महानगर प्रमुख आचार्यले फिर्केखोलाको अतिक्रमण हटाएर ‘फिर्के करिडोर’ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

फिर्केखोलामा पटक–पटक सीमाङ्कन र नक्साङ्कन भए पनि कार्यान्वयन नहुँदा अतिक्रमण निरन्तर बढ्दै गएको छ । महानगरका पूर्वप्रमुख मानबहादुर जिसीको कार्यकालमा गरिएको नापजाँचले फिर्केखोला मिचेर एक सय ९२ संरचना बनेको देखाएको थियो । २०६९ सालमा गुरुदत्त बरालको संयोजकत्वमा पनि फिर्केखोलाको सीमाङ्कन गरिएको थियो ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सबैको दायित्व भएको बताउँदै व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै हुने उल्लेख गर्नुभयो ।

उहाँले कास्कीमा सरकारी जग्गा अतिक्रमणको विवरण सङ्कलनसँगै अतिक्रमण हटाउने तयारी भइरहेको जानकारी दिनुभयो । “आवश्यक परे उचित व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो । आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रशासन र सुरक्षा निकाय तयार छन्,” उहाँले भन्नुभयो ।