• १२ साउन २०८१, शनिबार

भूकम्पबाट घाइते १८ जनाको भेरी अस्पतालमा उपचार सुरु

blog

भेरी अस्पतालमा ल्याइएका घाइतेहरुको उपचार हुँदै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक १८ गते । जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

उहाँहरूलाई एम्बुलेन्स र हवाईजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो । उपचार गराइरहनु भएकाहरूमा ४८ वर्षीय विमलकुमार कार्की, भेरी नपा ३ जाजरकोट, २२ वर्षीया इसा शाह जाजरकोट ३, २६ वर्षीया यमुना रावल, सानो भेरी १ रुकुम, ७९ वर्षीय टेकबहादुर शाही भेरी ८ जाजरकोट, २६ वर्षीय धनसिंह रावल सानो भेरी १ रुकुम रहनुभएको छ ।

त्यस्तै, २ वर्षकी बालिका सुप्रभा विक भेरी १ जाजरकोट, ३२ वर्षीय मोहन विष्ट वनगाड कुपिन्डे सल्यान, ७ वर्षका झुपेन्द्र परियार भेरी १ जाजरकोट, ६४ वर्षका टीकाराम राना भेरी १ जाजरकोट, १५ वर्षकी अनामिका शाही भेरी १ जाजरकोट र १२ वर्षका पुष्कर परियार भेरी १ जाजरकोट रहनुभएको छ । 

यसैगरी ४५ वर्षका प्रेमचन्द वली सानोभेरी ४ रुकुम, १७ वर्षका गोविन्द बुढाथोकी सानोभेरी ४ रुकुम, २४ वर्षकी नवीना खड्का सानोभेरी ४ रुकुम, ४ वर्षका लविश चन्द सानोभेरी ४ रुकुम, ६८ वर्षकी गौनी विक सानोभेरी ४ रुकुम, ५ वर्षका सुशान्त पुनमगर सानोभेरी २ रुकुम र २७ वर्षकी गुन्जन पुन भेरी १ जाजरकोट रहनुभएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आठ जना घाइतेलाई एम्बुलेन्सबाट र बालबालिकासहित १० जनालाई नेपाल एयरलाइन्सको हवाईजहाजबाट नेपालगन्ज ल्याइएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्सको विमानले शनिवार दिनभरि घाइते ओसार्ने पनि बताउनुभयो । 

पाइलट पेम्बा शेर्पा र को–पाइलट सुजन पुरीले उडाउनु भएको जहाज काठमाडौँबाट सल्ले पुगेर घाइतेलाई लिएर नेपालगन्ज विमानस्थल पुगेको थियो । त्यहाँबाट घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।  

घाइते सबैको उपचार भेरी अस्पतालमा भइरहेको र दुई जना बाहेक अरूको अवस्था सुधार भइरहेको अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो । भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खाली राखिएको छ ।