• ६ कात्तिक २०८१, मङ्गलबार

भूकम्पले जुम्लामा पाँच घाइते : दर्जनौँ घर चर्किए

blog

जुम्लामा भूकम्पले चर्किएको घर । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, कात्तिक १५ गते ।
 जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना घाइते भएका छन् । स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतम र उहाँको ११ महिनाको छोरा आयुष गौतम सामान्य घाइते हुनुभएको छ । सिर्जनाको हातमा सामान्य चोट लागेको छ भने आयुषको आँखामा चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका–३ निवासी १४ वर्षीय निराजन उपाध्याय, तिला गाउँपालिका–३ दानीवाडा निवासी ११ वर्षीया सपना थापा र  तातोपानी गाउँपालिका–४ हरिबहादुर खत्री सामान्य घाइते हुनुभएको छ । राति सुतेको बेला घरको पर्खाल खस्दा खत्रीको खुट्टामा चोट लागेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी, स्थानीय प्रशासनका अनुसार तिला गाउँपालिका–३, ५ र ९ रहेका केही घर तथा विद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका–८ निवासी ४६ वर्षीय विष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको छ भने अन्य कोठा चर्किएको छ ।

घाइतेहरूको घरमै प्राथमिक उपचार गरिएको र ११ महिनाको आयुष गौतमको स्वास्थ्य चौकीमा उपचार भइरहेका जानकारी उहाँले दिनुभयो । यसैगरी, जिल्लाका गाउँ–गाउँबाट भूकम्पले घरहरू चर्किएका खबर आएका छन् । जिल्लाका हिमा गाउँपालिका– १ बड्की गाउँमा धिरबहादुर शाही, पदमबहादुर शाही, राजबहादुर शाहीको घर चर्किएको स्थानीय रुगुविना शाहीले जानकारी दिनुभयो ।

जुम्ला जिल्लाको अवस्था मानवीय क्षति तथा कुनै ठुलो भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । उहाँले  यकिन तथ्याङ्कका लागि प्रहरी परिचालित गरिएको जानकारी दिनुभयो । शुक्रबार राति ११ः४८ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पको धक्का जुम्लामा पनि महसुस गरिएको थियो ।