• ५ जेठ २०८३, मङ्गलबार

पाँच पुल सञ्चालनमा, सिमकोट–हिल्सा सडकमा यातायात सहज

blog

हेक्पा खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको पक्की पुल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ ५ गते ।
कर्णाली करिडोर उत्तर खण्डअन्तर्गत सिमकोट–हिल्सा सडकमा तीन वटा पक्की पुल र दुई वटा बेलिब्रिज निर्माण सम्पन्न भएपछि यातायात सञ्चालन सहज भएको छ । कर्णाली नदी तथा विभिन्न खोलामा पुल निर्माण भएपछि आवतजावतमा सहजता आएको हो ।

हिल्सा–सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार उक्त खण्डमा निर्माण गरिएका पाँच वटा पुलमध्ये दुई वटा पक्की पुल यस आर्थिक वर्षमै सम्पन्न भई सञ्चालनमा आएका छन् ।

यस वर्ष निर्माण सम्पन्न भएका पुलमध्ये सिमकोट–नाम्खा गाउँपालिकाको सिमानामा रहेको हेक्पा खोला र नाम्खा गाउँपालिकास्थित ताक्रु खोला पुल प्रमुख छन् ।

यसअघि २०७३ सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालयले हिल्सामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरेको थियो । त्यस्तै करिब छ वर्षअघि हालको नाम्खा गाउँपालिका–५ तुम्कोटमा पनि कर्णाली नदीमाथि अर्को बेलिब्रिज निर्माण गरिएको थियो, जसको निर्माण हिल्सा–सिमकोट सडक योजनाले गरेको हो ।

त्यसैगरी एक वर्षअघि नाम्खा गाउँपालिकाको सल्ली खोलामा पक्की पुल निर्माण सम्पन्न भएको थियो । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ खोला र बर्खायाममा बाढीपहिरो आउने ढाँडकेमीमा दुई वटा कल्भर्ट पनि एक वर्षअघि निर्माण सम्पन्न गरिएको थियो ।

ती पक्की पुल, बेलिब्रिज र कल्भर्ट सञ्चालनमा आएपछि यातायात सेवा थप सहज भएको प्रमुख नेपालीले बताउनुभयो । सिमकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये नाम्खा गाउँपालिका–४ याङ्गार खोलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ, जसको निर्माण सुस्त गतिमा भइरहेको छ ।

यसैगरी सिमकोटबाट इलिङ काँध र तुम्कोटबाट हिल्सासम्मको सडक चौडाइ विस्तार कार्य सम्पन्न भइसकेको छ । इलिङ काँधदेखि तुम्कोटसम्मको सडक चौडाइ विस्तार बाँकी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षमा टेन्डर आह्वान गर्ने योजना रहेको योजना कार्यालयले जनाएको छ ।