बिष्णुप्रसाद पोखरेल
दमक, जेठ ४ गते । झापामा प्रहरीले सिमा कडाइ गरेसँगै नेपालबाट भारततर्फ स्याउ तस्करी हुने गरेको फेला परेको छ । झापा गाउँपालिकाको लसुना नाकाबाट चाइनिज स्याउको अवैध निर्यात बढ्दै गएको पाइएपछि प्रहरीले यसमा निगरानी बढाएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारततर्फ लैजान लागेको १०४ कार्टुन स्याउ गत साता बरामद गरिएको थियो । निगरानी बढाउने क्रममा फेरि आइतबार ५४ कार्टुन स्याउ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । झापा गाउँपालिका –१ बेलाइतीबारीस्थित वादिरुद्धिन शेखको घरबाट प्रहरीले स्याउ बरामद गरेको जनाएको छ ।
नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाइ–छिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्नेक्रममा अवैध रुपमा लुकाइ राखेको विलविजक विनाको ५४ कार्टुन स्याउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
अन्दाजी ३ लाख २४ हजार बराबरको १ हजार ८० के.जी. स्याउ बरामद गरी भन्सार बुझाइएको प्रहरीको भनाइ छ । यसअघि गत बैशाख १५ गते झापा गाउँपालिका वडा १ सालमारास्थित जालिम मियाको घरबाट पनि प्रहरीले १०४ कार्टुन स्याउ बरामद गरेर भन्सारमा बुझाएको थियो ।