• ४ जेठ २०८३, सोमबार

दिक्तेलमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव

blog

महोत्सवको पहिलो दिन दौड प्रतियोगितामा सहभागी ।

केदार मगर/रासस

खोटाङ, जेठ ४ गते । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । 

नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुने छ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । 

“खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा बालबालिकादेखि वृद्धवृद्धासम्मले उत्साहपूर्वक सहभागिता जनाएका छन् । महोत्सवको माध्यमबाट खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउँदै सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लक्ष्य राखिएको ।”

महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिताहरू आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्लाका दसवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा आयोजना गरिएको महोत्सवमा देशभरका धावक, साहित्यकार तथा खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन आइतबार एथलेटिक्स विद्याअन्तरगत दौड प्रतियोगिता आयोजना गरिएको थियो । छुट्टाछुट्टै उमेर समूह विभाजन गरेर छ विद्यामा आयोजना गरिएको दौड प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी ७५५ जना धावकले एकैसाथ सहभागिता जनाएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ । 

पन्ध्र वर्षभन्दा माथिका दस किलोमिटर खुला दौड प्रतियोगिताको महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम, रणभीम गण मुडे ब्यारेककी जानुका राउत द्वितीय  र मनिता खड्का तृतीय भएकी छन् । पुरुषतर्फ ताप्लेजुङका अमिर लिम्बू प्रथम, खोटाङका जगेन्द्र राई द्वितीय र सोलुखुम्बुका रुद्रधन कुलुङ तृतीय भएका छन् ।  

महिला-पुरुष दस किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय  र तृतीय हुनेले क्रमशः नगद १५ हजार,  दस हजार, सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी धावकहरुलाई नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सुरक्षा प्रमुख लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

पैँतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किलोमिटर दौड प्रतियोगितामा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिंह तामाङ द्वितीय र खोटाङका शिवप्रसाद राई तृतीय भएका छन् । आमाहरूका लागि पाँच किलोमिटर दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय  र भीमकुमार आचार्य तृतीय भएकी छन् ।

पन्ध्र वर्षमूनिका छात्रछात्रा सात किलोमिडर दौड प्रतियोगितामा छात्रतर्फ सम्पत राई प्रथम, न्यूजल राई द्वितीय  र धिरज राई तृतीय भएका छन् । छात्रातर्फ अस्मिता कटवाल प्रथम, लक्ष्मी राई द्वितीय  र कविता आचार्य तृतीय भएकी छन् । 

बाह्र वर्षमुनिका छात्रछात्रा तीन किलोमिटर दौड प्रतियोगिताको छात्रतर्फ निशान केसी प्रथम, दर्शन राई द्वितीय र यञ्जल राई तृतीय तथा छात्रातर्फ मन्दिरा श्रेष्ठ प्रथम, एलिसा कटवाल द्वितीय र रक्षा विश्वकर्मा तृतीय भएकी छन् । दस वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा छात्रतर्फ जालपा मावि जालपाका अनिल राई प्रथम, श्री मावि बाँस्बोटेका अजय श्रेष्ठ द्वितीय , दिक्तेल बोर्डिङ स्कुलका रविशन खत्री तृतीय भएका छन् । 

दस वर्षमुनिका छात्रातर्फ जालपा माविका अपेक्षा राई प्रथम, सरस्वती मावि दिक्तेलकी युना राई द्वितीय र श्री मावि बाँस्बोटेकी श्रद्धा राई तृतीय भएकी छन् । दिक्तेल बजारस्थित मानव अधिकार चोकलाई केन्द्र मानेर आयोजना गरिएको प्रतियोगितामा पचपन्न वर्षभन्दा माथिका पुरुषका लागि दुई किलोमिटर दौड प्रतियोगितामा धनीराम राई प्रथम, विचारी तामाङ द्वितीय  र वुद्धवीर लामा तृतीय भएका छन् । 

पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद १५ हजार,  दस हजार र सात हजार पुरस्कार प्रदान गरिएको छ । 

आमाहरूका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पाँच हजार ५५५, चार हजार ४४४ र तीन हजार ३३३, पचपन्न वर्षभन्दा माथिका पुरुषका लागि दुई किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय  र तृतीय हुनेले नगद पाँच हजार ५००, चार हजार ५०० र दुई हजार ५०० प्राप्त गरेका छन् । 

बाह्र वर्षदेखि पन्ध्र वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद सात हजार ५००, छ हजार ५०० र पाँच हजार ५०० प्राप्त गरेका छन् । 

दस वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा प्रथम,द्वितीय  र तृतीय हुनेले नगद तीन हजार, दुई हजार र एक हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय, चौथो, पाँचौँ, छैटौ र सातौ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, दस हजार, आठ हजार, सात हजार र पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । बुद्धिचाल यही जेठ–६ गते तथा साहित्यिक प्रतियोगिता जेठ–९ गते आयोजना गरिएको आयोजकले जनाएको छ । 

साहित्यतर्फ ख्यातिप्राप्त साहित्यकारबिच आ–आफ्नो सिर्जना सुनाउने र सुन्न कार्यक्रम राखिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष राईले जानकारी दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, गजल र मुक्तक सुनाउने र सुन्न कार्यक्रम राखिएको हो ।

महोत्सव सम्पन्न गर्न ३० लाख १३ हजार २३२ बजेट लाग्ने अनुमान गरिएको आयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई ११ हजार १११ नगदसहित पुरस्कृत गरेको छ । समापनको अवसरमा विभिन्न विद्यामा महत्त्वपूर्ण योगदान गर्ने पाँच जना व्यक्तिलाई नगदसहित सम्मान गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिनुभएको छ ।