• ४ जेठ २०८३, सोमबार

विंगर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

blog

धनकुटाको चौविसे गाउँपालिका–४, डिहिटारमा भएको टाटा विंगर दुर्घटना ।

सन्तोष सुवेदी

धनकुटा, जेठ ४ गते । तमोर काेरिडोर सडक खण्ड अन्तर्गत धनकुटाको चौबीसे गाउँपालिका–४, डिहिटारमा टाटा विंगर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार बिहान करिब साढे ९ बजे धरानबाट पाँचथरको फिदिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज. ३९४९ नम्बरको मिनीबस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोरङको सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुङ्गेलको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार दुर्घटना भएको सवारीभित्र च्यापिएकी उनको उद्धारगर्दा मृत्यु भइसकेको जानकारी दिनुभयो । 

टाटा विंगर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सवारीमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बस्ने अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् ।

 घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

दुर्घटनाग्रस्त सवारीमा करिब दुई हजार पाँच सय चल्ला समेत रहेका र दुर्घटनाबाट केही चल्ला मरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।