सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), जेठ ५ गते । कोशी प्रदेशसभा की उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा सञ्चालनमा
विभिन्न समस्या भोग्दै आएको बताउनुभएको छ । मङ्गलबार संसदीय पत्रकार मञ्च
कोशी प्रदेशले उदयपुरको बेलकामा आयोजना गरेको दुई दिने बजेट निर्माण,
सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय संघीयता कार्यान्वयन विषयक तालिमको
उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेशसभा सञ्चालनमा विभिन्न समस्या भएकाले कार्यसम्पादन प्रभावित हुँदै आएको बताउनुभयो । गत भदौमा भएको आगजनीका कारण प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि अझै सहज रूपमा सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ । जसका कारण प्रदेशसभा हाल भाडाको भवनमा सञ्चालन भइरहेको पनि उहाँले बताउनुभयो । आफू पनि कोठा भाडामा बस्नुपरेको हुँदा सबैसँग सहज रूपमा भेटघाट गर्न नसकेको गुनासो उहाँले गर्नुभयो ।
उहाँका अनुसार यस्ता समस्याका कारण बजेट निर्माण, स्थानीय तहसँग प्रत्यक्ष सम्पर्क, विकास निर्माण र कानुन निर्माणमा कठिनाइ भइरहेको छ । प्रदेशसभामा देखिएका समस्याको समाधान नहुँदा जनतासँग नजिक भएर काम गर्न नसकिएको उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उपसभामुख दनुवारले समाजमा अझै पनि विकृति फैलिएको र हल्लाका आधारमा अफवाह फैलाउने प्रवृत्ति बढेको बताउनुभयो । यस्ता अफवाह रोक्न सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो । पुराना जनप्रतिनिधिलाई बिना कारण आरोप लगाउने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति खबरदारी आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले आधारहीन हल्लाका पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।