• ५ जेठ २०८३, मङ्गलबार

४५ लाख रुपियाँ लागतमा बन्दैछ कवर्ड हल

blog

कवर्ड हल शिलान्यास कार्यक्रम । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, जेठ ५ गते । सल्यानको बागचौर नगरपालिकामा ४५ लाख रुपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु गरिएको छ । खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाको वडा २ बागचौरमा कवर्ड हल निर्माणको काम सुरु भएको हो । 

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको कवर्ड हलको मङ्गलबार शिलान्यास गरिएको छ । सो अवसरमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्मा, प्रदेशसभा सदस्य लक्ष्मी सुनार, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डि.सी वली लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो । निर्माणको जिम्मा यरिङका निर्माण सेवाले पाएको नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुदको विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभएको थियो। ग्रामीण क्षेत्रमा खेलमैदान र कवर्ड हलजस्ता संरचना निर्माण हुँदा युवाहरूमा खेलप्रति आकर्षण बढ्ने, प्रतिभा पहिचानमा सहयोग पुग्ने तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्न सहज हुने सहभागीको भनाइ थियो ।