• १ पुस २०८२, मङ्गलबार

मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल

blog

जयलाल भट्ट ।

काठमाडौँ, पुस १ गते। एक हातमा कागजपत्र अर्को हातमा नाति।मलिन अनुहारले नै भनिरहेको थियो, उहाँ कुनै समस्यासँग जुधिरहनुभएको छ।मङ्गलबार सिंहदरबारको गेटमा देखिनुभएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति माग्नुभयो, “मभित्र जानुछ हजुर १ मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर  भित्र नगई भएको छैन ।” 

प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानैपर्ने बाध्यता सुनाउनुभयो।भट्टले जति नम्र भएर कुरा गर्दै हुनुहुन्थ्यो उति नै नम्रतासहित प्रहरीले गृह मन्त्रालयको लेन्डलाइनमा फोन गरेर समस्या सुनाउन र अनुमति माग्न सुझाउनुभयो। 

भट्टले तुरुन्तै फोन गर्नुभयो र उसैगरी समस्या सुनाउँदै भित्र आउने अनुमति माग्नुभयो।टेलिफोनमा कुरा गरेको दुई तीन मिनेट नपुग्दै भट्टले नागरिकता देखाएर प्रवेश अनुमति पाउनुभयो। 

उहाँ पहिलोपटक सिंहदरबार पस्नुभएको भने होइन।भट्टले मङ्गलबार पहिले जसरी सिंहदरबार पस्न जस्तो सङ्घर्ष भने गर्नुपरेन।सहज र सम्मानित ढङ्गले सिंहदरबार प्रवेश पाउनु उहाँका लागि खुसीको क्षण थियो।“विगतमा सिंहदरबार छिर्न सांसद र नेतालाई गुहार गर्नुपर्थ्यो, यसपटक सजिलै प्रवेश पाएँ, अचम्मै पो लाग्यो”, भट्टले खुसी हुँदै भन्नुभयो, “बल्ल जनताको सिंहदरबार भएजस्तै महसुस गरेँ ।”

भित्र प्रवेश गरेपछि भट्टले नातिलाई औँलाले इशारा गर्दै सिंहदरबारको परिवेश सुनाउनुभयो।सम्भव भएसम्म त्यहाँ घुमाउनुभयो।उहाँमा सिंहदरबारमा पस्नुको उत्साह मात्रै थिएन, त्योभन्दा ठूलो यहाँसम्म आउनुको आशा र जिम्मेवारी थियो। बोल्न र सुन्न नसक्ने नातिको अँध्यारो वर्तमानलाई चिर्न र उज्यालो भविष्यका लागि आशाको दियो बाल्नु थियो।

भट्टले हामीलाई सुनाएअनुसार उहाँ ६३ वर्षको हुनुभयो, यो उमेरमा विगत चार÷पाँच वर्षदेखि नातिको स्वास्थ्य समस्या समाधानका लागि सङ्घर्षरत हुनुहुन्छ।“दैवको खेल भनु कि भाग्यको खेल”, उहाँ आफ्नै नियतिमाथि शङ्का गर्दै भन्नुहुन्छ, “नातिले बोल्न र सुन्नसक्ने भयो भने जीवनमा कुनै गुनासो हुन्थेन ।” 

भट्ट बिरामी नातिलाई निको बनाउनकै लागि दार्चुला मार्मा गाउँपालिका–२ बाट काठमाडौँमा आई बस्न थालेको दुई वर्ष भयो।नाति अरुण हुर्किंर्दै गएपछि न बोल्नसके न सुन्न।जिल्ला अस्पतालले विसं २०७८ मा उपचारका लागि कान्तिबाल अस्पताल जान सुझायो।सोहीअनुसार उक्त अस्पताल गए पनि नातिको उपचारमा थप जटिलता देखिएपछि अस्पतालले टिचिङ अस्पताल पठायो।

बिरामी नातिको उपचारका क्रममा भोगेका दुःख सुनाउँदै भट्टले भन्नुभयो, “टिचिङमा उपचारकै लागि तीन वर्ष अस्पतालको श्ययामा बस्नुप¥यो।घरको आर्थिकस्थिति नाजुक छ।उपचारका क्रममा रु ६९ हजार तिर्न नसक्दा उपचार नै रोकियो ।”

विगतको अवस्था सम्झेर उहाँको मन आत्तिन्छ।जसोतसो गरी रु १७ लाख ५० हजार जुटाएर नातिको उपचार गरे पनि बाँकी उपचारका लागि खर्च जुटाउन नसक्दा सिंहदरबार धाउनुपरेको उहाँले बताउनुभयो।

हातमा वडाको सिफारिस लिएर गृह मन्त्रालयमा पुग्नुभएका भट्टले दैनिक थेरापी गर्न ३० मिनेटको रु ९०० र एकपटक ‘म्यापिङ’ गर्न चार हजार ५०० खर्च लाग्ने गरेको सुनाउनुभयो।उहाँले सुनाएअनुसार घरमा सबै बिरामी छन्।श्रीमती पत्थरी र किड्नी तथा छोरा मुटुको बिरामी छन्।घरका तिनै जना दीर्घ रोगले थला परेपछि उहाँको बुढो काँधमा बोझिलो जिम्मेवारी आएको छ ।

“आम्दानीको स्रोत छैन, कमाउने छोरो थला पर्‍यो।कलिलो नातिलाई जसरी पनि बचाउनु छ।धेरै चोटी सहयोगको सिंहदरबार आएको छु।हरेक सरकार आउँदा नाति बचाउन सिंहदरबार धाउँदै आएको छु”, उहाँले भन्नुभयो, “यसपटक नागरिक सरकार बनेको सुने।त्यसले केही सहयोग गर्छ  कि भनेर झिनो आशा बोकेर सिंहदरबार पसेको हु ।” मधु शाही/रासस