विकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक भएको छ । अञ्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीत गीतकार श्री सिवाले लेखेका हुन् । गीतमा सङ्गीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।
विद्यालयका छात्राहरू स्थानीय वेशभूषामा जनचेतना फैलाउन देउडा गीतमार्फत लाग्नुभएको छ । उहाँहरू सार्वजनिक रूपमा आयोजना हुने हरेक कार्यक्रममा यो शैलीमा जनचेतना जगाउन लागिपर्नुभएको छ । खार्पुनाथ गाउँपालिका–४ को सीता माविका छात्रा पार्वती रोकायाले विद्यालयमा अध्ययनरत छात्राहरू मिलेर गाउँपालिकाभरि आयोजना हुने हरेक कार्यक्रममा देउडा गीतमार्फत जनचेतना फैलाउने अभियान सुरु गरेको बताउनुभयो । उहाँले यो कार्यक्रमका लागि विद्यालयका प्रधानाध्यापक जुनराज हमालको अगुवाइमा स्थानीय वेशभूषाका पोसाक (दौरा र घाग्रो)को व्यवस्था गरिएको बताउनुभयो ।
वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै तीन वर्षदेखि राहदानी र रकम लिँदै आएको सूर्य कर्पोरेसन (म्यानपावर) कम्पनीको कारोबार वैदेशिक रोजगार विभागले रोक्का गरेको छ । उक्त म्यानपवार कम्पनीले जापान पठाइदिने भन्दै युवाबाट तीन वर्षदेखि रकम र राहदानी लिएर अहिलेसम्म पठाउन नसकेकाले पीडितको उजुरीका आधारमा कारबाही गरेको हो ।
क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी विश्वप फुटबलमा यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबलर हुनुहुन्छ । मेसी ३५ वर्ष पुगिसक्नुभयो । रोनाल्डो अझ मेसीभन्दा दुई वर्ष जेठा हुनुहुन्छ । चार वर्षपछि मेसी ३९ र रोनाल्डो ४१ वर्ष पुग्नुहुनेछ । यी दुई स्ट्राइकले अर्को विश्वकप खेले भने त्यो चमत्कार नै हुनेछ । यी दुवैले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा खेल्ने सम्भावना क्षीण छ ।
चालू आर्थिक वर्षमा ४४ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन दिएका ९५ वटा आयोजनामध्ये ती आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन् । कुल सात हजार १५८ मेगावाट क्षमताका ती आयोजनामध्ये चालू आर्थिक वर्षमा मात्रै एक हजार ८६६.२ मेगावाट क्षमताका आयोजनाका प्रवद्र्धकले अध्ययन सकेर आवदेन दिएका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का सदस्य प्रकाश दुलालका अनुसार लाइसेन्सको अवधि गुज्रने खतराले यो वर्ष निर्माण लाइसेन्सको आवेदन बढेको हो । उहाँले भन्नुभयो, “लाइसेन्स खारेज हुनबाट जोगिन आवेदन गरिएको हो । विद्युत् खरिद बिक्री सम्झौताको टुङ्गो नलागे पनि अध्ययन तथा अन्य कार्यमा खर्च भइसकेका आयोजना जोगाउनुपर्ने बाध्यता हाम्रो छ ।”
प्रहरीको सेटिङमा तस्करी मौलाएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन विराटनगर भन्सार कार्यालयले आग्रह गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले चोरी पैठारी नियन्त्रणमा प्रहरीले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थ मन्त्रालयसँग सुरक्षा सहयोग माग गर्नुभएको हो । मोरङका प्रमुख अधिकारी काशीराज दाहालले घटनाबारे आइतबार थाहा पाएको जानकारी दिनुभयो । यो घटनालगायतका विषयमा छलफल गर्न आइतबार नै राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको बताउँदै दाहालले दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दसगजामा पर्ने चारवटा होटल बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ । स्थानीयको मागअनुसार विराटनगर महानगरपालिका–१७ का वडाध्यक्ष समिम कमरले दसगजा क्षेत्रमा रहेका मदिरा बिक्री गर्ने होटल बन्द वा स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो । वडा समितिको मङ्सिर २० गते बसेको बैठकले दसगजा क्षेत्रमा रहेका होटलका कारण अपराध बढेको भन्दै पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरिएको छ । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकसँग श्रममन्त्री कार्यक्रम पुनः सञ्चालन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको उक्त कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरिएको मन्त्रालयले जनाएको हो । आइतबार दिउँसो ११ देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई देश र विदेशबाट श्रमिकले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आइतबारसम्म जारी छ । आयोगले मङ्सिर २६ गतेदेखि लागू हुने गरी आचारसंहिता हटाउने निर्णय गरेको छ । आचारसंहिता जारी रहेको बेला आयोगको अनुमतिबिना कुनै पनि नियुक्ति, सरुवा–बढुवाजस्ता राज्यलाई आर्थिक वा अन्य कुनै पनि किसिमका दायित्व थपिने काम गर्न पाइँदैन ।
आकाशगङ्गामा के छ ? हामीसँग केही जानकारी मात्र छ, यस विषयमा थप अनुसन्धान जारी छ । नेपाललगायत विश्वका खगोलविद् अहिले आकाशगङ्गाबाहिर पनि उज्यालो वस्तु ‘ब्लाजार जेट्स’ रहेको भन्दै ती वस्तुको थप अध्ययन तथा अनुसन्धानमा जुटेका छन् । ग्रीकका खगोलविद् यानिस लियोडाकिसले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययन र अनुसन्धानमा आफूहरू जुटेको बताउनुभएको छ । उहाँका अनुसार ‘ब्लाजार जेट्स’ विषयको अनुसन्धान ब्रह्माण्डको उत्पत्ति तथा मानव जीवनमा उपयोगी हुन सक्ने छन् । खगोलविद् लियोडाकिसले आफूहरू विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको गोरखापत्रसँगको कुराकानीमा बताउनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। उहाँले भन्नुभयो, “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन। प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताउनुभयो।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कामकारबाहीपत्र निष्प्रभावी भएको विषयमा संवैधानिक इजलासलाई नै जवाफ दिने पत्राचार गर्नुभएको छ। पूर्ण बैठकको निर्देशनअनुसार भन्दै पत्रमा थप स्पष्ट पार्न सर्वोच्च प्रशासनले लेखेको पत्रको जवाफ आइतबार गौतमले सर्वोच्चलाई पठाउनुभएको हो। उठाइएका विषयका सन्दर्भमा सर्वोच्चमा मुद्दा विचाराधीन भएको र त्यसमा जवाफ माग्ने आदेश भइसकेकाले इजलासलाई नै जवाफ दिने उहाँको पत्रमा उल्लेख छ।
छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो । घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न आउनुभयो । उहाँका छोरालाई अस्पतालमा औषधि गरेको र बेड शुल्कसमेत गरेर ४० हजार बिल पुग्यो ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन्। गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो। पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो। त्यसपछि गाउँमा त्रास फैलिएको छ। अहिले उनीहरू स्वास्थ्यकर्मीको परामर्शमा छन्।
जुम्लाको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालयमा आइतबार नुन लिन आएका जुम्लाका स्थानीयवासी ।