• २८ पुस २०८१, आइतबार

बुद्धजयन्तीको तयारी : लुम्बिनीमा सरसफाइ अभियान

blog

लुम्बिनीको सरसफाइ अभियानमा जुटेका सरोकारवालाहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, बैशाख १० गते । बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीमा २५६७ औं बुद्ध जयन्तीको तयारी थालिएको छ । वैशाख २२ गते परेको बुद्ध पूर्णिमाका लागि बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान २०८०’ सुरु गरिएको छ ।

लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहरक्षेत्रसहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको सुरुवात गरेको हो । सरसफाईमा स्थानीय कोषका पदाधिकारी, सदस्य, होटल व्यवसायी, आमा समूह, शसस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको छ ।

‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्ध जन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय पर्यटकीयस्थललाई सफा राख्न कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताउनुभयो ।

कोषले नियमित रुपमा सफाई गर्दैआए पनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्मको फाहोर चुनौतीपूर्ण बनेको छ । कोषका पदाधिकारी र कर्मचारीहरु हातमा कुचो बोकेर उक्त फोहोर डम्पिङ साईटजस्तै बनेको क्षेत्रमा सफाई गरेका छन् ।

यसअघि पटक–पटक होटल व्यवसायी र स्थानीयलाई फोहोर नफाल्न आग्रह गरिए पनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाई अभियान सुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्यसचिव शाक्यले बताउनुभयो । ‘पवित्रस्थलमा फोहोर फाल्दा त्यसले राम्रो सन्देश दिंदैन’ सदस्यसचिव शाक्यले भन्नुभयोे, ‘फोहोर व्यवस्थापन गर्नुपर्छ, तर रातिमा लुकीलुकी कोषको कम्पाउण्डमा फोहोर नफाल्न होटल व्यवसायीलाई आग्रह गर्दछौं ।’ 

लुम्बिनीमा नियमित रुपमा नै सफाई अभियान चलिरहेको भए पनि अभियानले सबैलाई सक्रिय बनाउने उहाँको भनाइ छ । सरफाई अभियानमा सदस्यसचिव शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिमबहादुर बस्नेत, प्रशासन अधिकृत चुरामणि भट्टराईसहित कोषका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु सरसफाइमा खटिएका छन् ।