गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर २९ गते । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपियाँ मूल्य बढेको छ ।
मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपियाँ र तेस्रो वर्गका लागि १४२ रुपियाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपियाँ र तेस्रो वर्गका लागि १६३ रुपियाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपियाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपियाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।