गोरखापत्र अनलाइन
काठमाडौँ, मंसिर २९ गते । समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालाबिच सहकार्यको आवश्यकता औँल्याइएको छ ।
सरकारी निकायका उच्च पदाधिकारी, युवा नवप्रवर्तक, निजी क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, आदिबासी समुदायका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागितामा आज ललितपुरमा भएको नेपाल फुड फोरम २०२५ मा सहभागीहरूले कृषि नीति बनाउँदा र कार्यान्वयमा ल्याउँदा पनि संवाद र छलफल बढाउन सरोकारवालाले अनुरोध गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा साझेदारी तथा सहकार्यको प्रवर्द्धन, युवामुखी नवप्रवर्तनलाई प्रोत्साहन तथा खाद्य सुरक्षा, ग्रामीण जीविकोपार्जन र दिगो आर्थिक वृद्धिलाई सुदृढ गर्ने बारेमा छलफल भएको छ ।
फोरममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले कृषि क्षेत्रमा नवप्रवर्तन, लगानी र समावेशीतामार्फत आधुनिकीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कृषि खाद्य प्रणाली रूपान्तरणमा युवा, महिला तथा आदिबासी समुदायको सक्रिय सहभागिता महत्त्वपूर्ण रहेको बताउँदै दीर्घकालीन उत्पादकत्व र उत्थानशीलताका लागि समावेशी सहभागीता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उद्घाटन सत्रमा सम्बोधन गर्दै खाद्य तथा कृषि सङ्गठनका नेपाल तथा भुटानका प्रतिनिधिकेन शिमिजुले नेपालको कृषि खाद्य प्रणालीको भविष्य निर्माणमा युवाको भूमिकामाथि विशेष जोड दिनुभयो । उहाँले युवाहरू अब विकास कार्यक्रमका लाभग्राही मात्र नभ कृषि खाद्य प्रणाली रूपान्तरणका प्रमुख साझेदार तथा नेता भएको धारणा व्यक्त गर्नुभयो ।
युवाले नेतृत्व गरेका कृषि व्यवसाय, कृषि प्रविधि समाधान तथा हरित रोजगारीमा लगानी गर्नु दिगो तथा समावेशी कृषि खाद्य प्रणाली निर्माणको आधार भएको उल्लेख गर्लै उहाँले दीर्घकालीन खाद्य सुरक्षा र ग्रामीण समृद्धिको लागि उत्पादन र प्रशोधनदेखि व्यापार प्रवर्धन, डिजिटल नवप्रवर्तन र सुशासनसम्मको सम्पूर्ण मूल्य शृङ्खलामा अर्थपूर्ण युवा संलग्नता महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।
खाद्य तथा कृषि सङ्गठनको ८० औँ वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै शिमिजुले खाद्य तथा कृषि सङ्गठन र नेपालको दीर्घकालीन साझेदारीका बारेमा चर्चा पनि गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हाना सिंगर ह्याम्डीले कृषि खाद्य प्रणाली रूपान्तरणका लागि बहुक्षेत्रीय तथा एकीकृत दृष्टिकोण आवश्यक रहेको औँल्याउनुभयो । उहाँले दिगो खाद्य प्रणाली दिगो विकास लक्ष्य प्राप्तिको केन्द्रमा रहेको उल्लेख गर्दै कृषि, पोषण, जलवायु, स्वास्थ्य तथा सामाजिक संरक्षणबीच सहकार्य सुदृढ गर्न आह्वान गर्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कृषि खाद्य रूपान्तरणलाई अगाडि बढाउन सरकारले प्रमाणमा आधारित नीति निर्माण, नवप्रवर्तन र साझेदारीमा ध्यान केन्द्रित गरेको जानकारी गराउनुभयो ।
विभिन्न क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएर भएको नेपाल फुड फोरम २०२५ ले सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था र विकास साझेदारबिच सहकार्य सुदृढ गरेको फोरमले नीति संवाद, लगानी परिचालन र युवामुखी पहलमा योगदान दिने अपेक्षा गरिएको छ । यसले वर्तमान तथा भावीपुस्ताका लागि दिगो, समावेशी र उत्थानशील कृषि( खाद्य प्रणाली निर्माणमा सघाउने विश्वास व्यक्त गरिएको छ ।