सिराज खान
नेपालगन्ज, पुस १ गते । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै सहकारी पीडितले आमरण र रिले अनशन सुरु गरेका छन् ।
नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको गेट छेउमा मंगलबार दिउँसोबाट सुरु गरिएको अनशनमा नेपालगन्जका पूर्व नगर प्रमुख विजयकुमार गुप्ता आमरण अनशनमा बस्नुभएको हो । उहाँको साथमा अन्य पीडित माया पासी, मोती कुमारी शर्मा, रामचन्द्र पासी र जुखी यादव रिले अनशनमा बस्नु भएको हो ।
सहकारी वित्तिय विकास संस्थाका ४१ जना कर्मचारी र सञ्चालकले नै मिलेर ११ हजार भन्दा बढी बचतकर्ताको ४३ करोड दुई लाख ५३ हजार ९५ रुपियाँ हिनामिना गरेकोमा हालसम्म पनि बचत रकम फिर्ता नपाएको भन्दै आमरण अनशन सुरु गर्नुभएको हो ।
संघर्ष समितिका संयोजक गुप्ताले पीडित बचतकर्ताको सावा व्याज फिर्ता गराउ र संस्थाको सञ्चालक समिति गठन गर्न विशेष साधारणसभा आह्वान गर्न माग गरेको छ ।