• १२ साउन २०८१, शनिबार

चितवन उपनिर्वाचन अपडेट

नयाँ किरणमा स्थगित मतदान सुरु गर्ने तयारी

blog

भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयमा सुरक्षाकर्मीले मतदाताको सुरक्षा दिंदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । चितवनको निर्वाचन क्षेत्र नम्बर २ को नयाँ किरण माध्यमिक विद्यालयको मतदानस्थलमा रोकिएको मतदान कार्य सञ्चालन गर्ने तयारी भएको छ । भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली जानेक्रममा निर्वाचन चिन्ह बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो । 

मध्यान्ह १२ बजेबाट स्थगित भएको मतदान कार्य सञ्चालनको लागि प्रयास भइरहेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । 

सात वटा मतदान केन्द्र रहेको नयाँ किरण मावि स्थलमा ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । यस केन्द्रमा छ हजार आठ सय मतदाता छन् । 

यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी मतदाता रहेका छन् । 

यो पनि पढ्नुहोस

चितवन क्षेत्र २ मा ४७ प्रतिशत मत खस्यो

चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित