अमरराज नहर्की
तनहुँ, वैशाख १० गते । तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन सबैभन्दा धेरै नेपाल प्रहरी एक हजार ६ सय, सशस्त्र प्रहरी ४४२, नेपाली सेना पाँच सय र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालले बताउनुभयो । यसका अतिरिक्त सदरमुकाम दमौलीमा रिजर्भ फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
तत्कालीन प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन गरिएको हो । तनहुँ –१ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।