पछिल्लो समय बागमती प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी बढेको छ । चैत सुरु भएयता मात्र यस प्रदेशमा चार हजार हेक्टर वनमा डढेलो लागेको छ । यस वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुकेका कारण आगलागीको जोखिम पनि उच्च भएको बागमती प्रदेशको वन निर्देशनालय हेटौँडाले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशभित्रका करिब चार हजार हेक्टर वनमा डढेलो लागेको छ । सबैभन्दा बढी रसुवामा करिब तीन हजार हेक्टर वनमा डढेलोले क्षति पु-याएको छ ।
सन् १९६० को दशकमा अमेरिकाको गुप्तचर निकायका अनेक परियोजनामा बिरालोमाथिसमेत परीक्षण र प्रयोग गरिएको थियो । गुप्तचर निकाय सिआइएले बिरालोलाई काममा लगाउने निर्णय त गर्यो तर बिरालोलाई तालिम दिन कत्तिको कठिनाइ आइपर्ने हो संस्थाले रत्तिभर विचार गरेन । बिरालोको काम थियो, वासिङ्टन डिसीमा रहेको सोभियत सङ्घको राजदूतावास बाहिरको बगैँचामा दुई जनाको गुप्त कुरा सुन्नु । बिरालोको कानभित्र पशु शल्यचिकित्सकले एउटा माइक्रोफोन प्रत्यारोपण गरेका थिए । टाउकोको हड्डीमा सानो रेडियो ट्रान्समिटरलाई अड्याएर तन्तुमा ब्याट्री राखिएको थियो । यो परियोजना सम्पन्न हुन पाँच वर्ष समय लाग्यो र दुई करोड अमेरिकी डलर खर्च भयो ।
बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न तत्काल परमादेश जारी गरेको छ ।
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।
ताप्लेजुङमा चिया खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएको छ । पछिल्लो समय जिल्लामा चिया खेती लगाउन सुरु गरिएको र यसबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएको किसानले बताएका छन् ।
नेकपा (एमाले) बाँकेले जिल्लाभरका सङ्गठित सदस्यहरूको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो । उक्त परीक्षामा वयोवृद्ध नेताहरूको समेत सहभागिता छ । खजुरा–२, सीतापुरबाट पार्टी केन्द्रीय सदस्य ८० वर्षीय बाबुराम गौतम, ७५ वर्षीय पूर्वजिल्ला कमिटी अध्यक्ष नन्दलाल रोकायलगायतका नेताको सहभागिता रहेको सचिव खत्रीले बताउनुभयो । एमाले बाँकेले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन भएको हो । परीक्षामा करिब पाँच हजार सङ्गठित सदस्य सहभागी हुनुपर्ने भए पनि जिल्लाबाहिर रहेकाले सबैजना उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगन्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो ।
झापामा सहकारी संस्थाहरूमा भल्ट अर्थात् सेफ नै फुटाएर चोरीका घटनाहरू बढ्न थालेका छन् । एकपछि अर्को गर्दै जिल्लाका विभिन्न ठाउँमा सेफमा राखिएका रकम चोरी हुन थालेको हो ।
दोलखाको कालिञ्चोक गाउँपालिका–८ स्थित हाम्रो साना किसान कृषि सहकारी संस्थाले किसानलाई केही सुविधा उपलब्ध गराई बाँझो जमिनलाई उपयोग गराउन लागेको छ । संस्थाको समन्वयमा ग्रिन इन्टेलिजेन्स कम्पनीले बिरुवा निःशुल्क उपलब्ध गराई रोपे तथा संरक्षण गरेबापत प्रतिबिरुवा ५० रुपियाँ दिएर बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने वातावरण बनाउन लागेको संस्थाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो ।
पर्वतको जलजला गाउँपालिका–५ को वडा कार्यालयले मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदनासहित १० हजार रुपियाँ सहयोग गरेको छ । वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर शोकमा रहेका परिवारसँग भेटघाट र किरियाखर्च हस्तान्तरण कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीय बताउँछन् । वडाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
जीवनको उत्तराद्र्धमा गाउँमा बिजुली पुगेपछि नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२, डाडाँझेरी मथारका ज्येष्ठ नागरिक दलसिंह ठाडामगर खुसीले दङ्ग पर्नुभएको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइनले गाउँमा बिजुली पु¥याएपछि उहाँ मात्रै होइन गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका यतिबेला सबै खुसी साट्दै छन् । बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापामगर बत्ती पुगेपछि धेरै राहत भएको बताउनुहुन्छ ।
कलेजोको क्यान्सर रोगबाट पीडित तनहुँको एक महिलाको उपचार गर्न परिवारले सहयोगको अपिल गरेका छन् । व्यास नगरपालिका–५, पीपलटारमा भाडाको घरमा बस्दै आएका ४९ वर्षीया क्यान्सर पीडित विनुमाया गुरुङको उपचारका लागि परिवारले सहयोग मागका हुन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि देवचुली–१३ मा जग्गा नापजाँच सुरु गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले लामो समयदेखि जोतभोग र बसोबास गर्दै आएका स्थानीयलाई भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको प्रक्रियालाई समाधान गर्न जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । नापीको काम समाधान गरी जग्गाधनी पुर्जा वितरणका लागि थप काम हुने उहाँले बताउनुभयो । देवचुली नगरपालिकामा अहिलेसम्म चार हजार ५५३ जनाको जग्गाधनी पुर्जाका लागि लागत सङ्कलन भएको छ ।
मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।