• १२ असार २०८१, बुधबार

डढेलो नियन्त्रणका क्रममा दुई जनाको मृत्यु

blog

बागमती प्रदेश ब्युरो  

हेटौँडा, चैत ७ गते । पछिल्लो समय बागमती प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी बढेको छ । चैत सुरु भएयता मात्र यस प्रदेशमा चार हजार हेक्टर वनमा डढेलो लागेको छ । यस वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुकेका कारण आगलागीको जोखिम पनि उच्च भएको बागमती प्रदेशको वन निर्देशनालय हेटौँडाले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशभित्रका करिब चार हजार हेक्टर वनमा डढेलो लागेको छ । सबैभन्दा बढी रसुवामा करिब तीन हजार हेक्टर वनमा डढेलोले क्षति पु-याएको छ ।

निर्देशनालयका सूचना अधिकारी गोविन्द अर्यालले डढेलो निभाउने  क्रममा यस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । उहाँका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित जनजागृति महिला सामुदायिक वन क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा भिरबाट लडेर धनबहादुर थापाको मृत्यु भएको हो । त्यस्तै रामेछापको खाडादेवी गाउँपालिका–७ मा रहेको भगवती सामुदायिक वनमा लागेको आगो निभाउने व्रmममा घाइते भएका कर्णबहादुर मगरको उपचार गर्दा गर्दै दुई दिनपछि मृत्यु भएको उहाँले बताउनुभयो । 

हालसम्ममा डढेलोबाट एक करोड रुपियाँभन्दा बढीको भौतिक सम्पत्तिको क्षति भएको प्रारम्भिक अनुमान छ । निर्देशनालयका सूचना अधिकारी अर्यालका अनुसार विभिन्न जिल्लाबाट निर्देशनालयलाई प्राप्त तथ्याङ्कका आधारमा डढेलोका कारण २६ घरगोठ जलेर नष्ट भएका छन् भने एक सयभन्दा बढी गाईवस्तु जलेका छन् । उहाँले भन्नुभयो, “आगलागीबाट बोटबिरुवा कति क्षति पुग्यो भन्ने अहिले यकिन भइसकेको छैन ।” 

निर्देशनालय मातहतका १५ वटा डिभिजन वन कार्यालयबाट १०–१० जनाको स्वयंसेवक दस्ता बनाएर वन डढेलो नियन्त्रणसँगै सचेतनाका कार्य भइरहेको छ । निर्देशनालयले डढेलो नियन्त्रणका लागि विगतका वर्षमा औजार उपकरण उपलब्ध गराए पनि यो वर्ष उपलब्ध गराएको छैन । 

सूचना अधिकारी अर्यालले डढेलो नियन्त्रणका लागि औजार उपकरणहरू वन कार्यालयसँगै नेपाल प्रहरी र नेपाली सेनालाई पनि उपलब्ध गराइएको र उनीहरूसँगको सहकार्यमा डढेलो नियन्त्रणको काम भइरहेको बताउनुभयो । उहाँले रसुवाको वन डढेलोका दृष्टिले उच्च जोखिम रहेको र तीन चरणमा डढेलो लाग्ने गरेको बताउँदै विकट क्षेत्रका वनमा लाग्ने डढेलो नियन्त्रणमा समस्या रहेको बताउनुभयो । 

यसैबिच हेटौँडा उपमहानगरपाकिा–१८, सुकौरास्थित पाखामा लगाएको डढेलोका कारण घर गुमाएको परिवारलाई उपमहानगरपालिकाले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको छ । घर नजिकैको पाखोडाँडामा लागेको डढेलो हावाका कारण गोठमा सल्केको र पछि घरमा सल्कँदा सुकौराका मदनकुमार तामाङ बलको घरगोठ जलेर नष्ट भएको थियो । आगोले घरगोठसहित खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागी पीडितलाई बस्न उपमहानगरले अस्थायी घर बनाइदिने घोषणा गरेको छ  । 

लापर्बाहीले हुन्छ आगलागी  

विगत केही दिनदेखि सिन्धुलीका सामुदायिक तथा राष्ट्रिय वनमा दैनिक जसो डढेलो लाग्दै आएको छ । घाँसी, गोठालाले नयाँ घाँस तथा पालुवा पलाउने लोभमा वनमा जथाभाबी डढेलो लगाउने गरेको स्थानीयले बताएका छन् । गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा आइतबार मात्रै पञ्चकन्या सामुदायिक वनमा लागेको डढेलो नजिकैको बस्तीमा पस्दा भक्तबहादुर श्रेष्ठको घर, गणेशबहादुर थापाको गोठ र सामबहादुर विकको आरन जलेर आठ लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष हितलाल श्रेष्ठले डढेलो नियन्त्रण गर्न स्वयंसेवकको समूह तयार गर्न सामुदायिक वन समितिलाई भनेको बताउँदै अहिले धेरै जसो सामुदायिक वन समितिले समूह तयार गर्दै गएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले कमलामाई नगरपालिका–५ स्थित सरस्वती सामुदायिक वन समितिले डढेलो नियन्त्रणका लागि सिमानामा अग्नि रेखा तयार गरेको र १० जनाको स्वयंसेवकलाई वन क्षेत्रमा दैनिक गस्ती गर्न लगाएको सुनाउनुभयो ।

डिभिजन वन कार्यालय सिन्धुलीले वन डढेलो नियन्त्रणका लागि चैत १ गतेदेखि नै सप्ताहव्यापी प्रचारप्रसार गरिरहेको जनाएको छ । कार्यालय प्रमुख प्रल्हाद धितालले वनमा डढेलो लगाउने व्यक्ति पत्ता लगाउनेलाई पुरस्कृत गर्न वन समितिलाई आग्रह गरिएको बताउँदै वनमा डढेलो लगाउने व्यक्तिलाई ६० हजार रुपियाँसम्म जरिबाना र तीन वर्षसम्म कैदको व्यवस्था कानुनले गरेको बताउनुभयो । वन डढेलो नियन्त्रणका लागि प्रयोग हुने औजार उपकरणहरू वितरण भइरहेको जानकारी दिँदै उहाँले मानवीय कारणले नै वनमा डढेलो फैलिरहेको स्पष्ट पार्नुभयो । जिल्लाको कुल वनको क्षेत्रफल एक लाख ५४ हजार ४०७.८५ हेक्टरमध्ये सामुदायिक वनले ८९ हजार ९४०.४२ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ ।

एक सातामा उन्नाइस स्थानमा आगलागी 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले सुक्खायाम सुरु भएसँगै फागुन २६ गतेदेखि आइतबारसम्ममा जिल्लाका १९ स्थानमा आगलागी तथा डढेलो लागेको जानकारी दिनुभयो । उहाँले आगलागीबाट ९५ रोपनी सामुदायिक वनमा क्षति, कच्ची घर छ वटा र गोठ सात वटा जलेर नष्ट भएको भन्दै करिब १२ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको बताउनुभयो । आगलागीबाट चार पुरुष, तीन महिला र दुई बालिका गम्भीर घाइते भएकोमा वर्न (जलन) अस्पताल कीर्तिपुरमा उपचार भइरहेको श्रेष्ठले बताउनुभयो । यस्तै महाभारत गाउँपालिका–२, मूलडाँडाका सञ्चार घिसिङको एक तले घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र नगद एक लाख पाँच हजार रुपियाँसहित अन्दाजी तीन लाख रुपियाँ बराबरको क्षति भएको थियो । आगलागीपछि सामान झिक्न जानुभएका घरधनी आगोमा जलेपछि उपचारका लागि धुलिखेल अस्पताल हुँदै वर्न अस्पताल कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ । 

आगलागी पीडितलाई सहयोग 

आगलागीबाट घरविहीन भएका रामेछापको रामेछाप नगरपालिका–९ टारका १३ घरपरिवारलाई मन्थली नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । नगरपालिकाले पीडित परिवारलाई प्रतिपरिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको हो । मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापालगायतका जनप्रतिनिधि र कर्मचारीहरू आगलागी प्रभावित गाउँ टारमा पुग्नुभएको थियो ।  

गत चैत १ गते नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर परिवारको घर र गोठ जलेर नष्ट भएको थियो । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसीलगायतका पशु वस्तुसमेत मरेका छन् । आगलागी पीडित परिवारलाई मन्थली नगरपालिका, रामेछाप नगरपालिका, नेकपा एमाले रामेछाप, रामेछाप रेडक्रसलगायतले खाद्यान्नलगायतको सामान सहयोग गरेका थिए । पीडितलाई जिल्ला विपत् व्यवस्थापन समितिले ३० हजारका दरले र रामेछाप नगरपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद सहयोग गर्ने निर्णय गरेका छन् । रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले आगलागी पीडितको आवास निर्माणको लागि सहयोग गर्न दाताहरूलाई आग्रह गर्नुभएको छ ।

(मकवानपुरबाट राममणि दाहाल, सिन्धुलीबाट बाबुराम देवकोटा, बनेपाबाट केदार तिमल्सिना र रामेछापबाट नवराज श्रेष्ठ)