• २१ वैशाख २०८१, शुक्रबार

जासुस बिरालो

blog

सन् १९६० को दशकमा अमेरिकाको गुप्तचर निकायका अनेक परियोजनामा बिरालोमाथिसमेत परीक्षण र प्रयोग गरिएको थियो । गुप्तचर निकाय सिआइएले बिरालोलाई काममा लगाउने निर्णय त गर्‍यो तर बिरालोलाई तालिम दिन कत्तिको कठिनाइ आइपर्ने हो संस्थाले रत्तिभर विचार गरेन । बिरालोको काम थियो, वासिङ्टन डिसीमा रहेको सोभियत सङ्घको राजदूतावास बाहिरको बगैँचामा दुई जनाको गुप्त कुरा सुन्नु ।

बिरालोको कानभित्र पशु शल्यचिकित्सकले एउटा माइक्रोफोन प्रत्यारोपण गरेका थिए । टाउकोको हड्डीमा सानो रेडियो ट्रान्समिटरलाई अड्याएर तन्तुमा ब्याट्री राखिएको थियो । यो परियोजना सम्पन्न हुन पाँच वर्ष समय लाग्यो र दुई करोड अमेरिकी डलर खर्च भयो ।

यति धेरै खर्च गरिएको परियोजना सन् १९६७ मै सिआइएले बन्द गरायो किनभने बिरालोले टेर्न छाडेको थियो । सोभियत सङ्घको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिन तथा उसका राजदूतावासको गुप्तचरी गर्न सिआइएले बिरालोलाई तालिम त दियो तर त्यो सोचे जति सफल भएन । सिआइएले परियोजनाको नाम ‘अकुस्टिक किट्टी’ राखेको थियो ।

‘अकुस्टिक किट्टी’ परियोजना असफल हुनुको मुख्य कारण थियो बिरालोमा जन्मजात स्वतन्त्र विचरण गर्ने प्रवृत्ति हुनु । तैपनि सिआइएले बिरालोलाई आफ्नो निर्देशनमा काम गर्ने गरी तालिम दियो । बिरालोले अह्राए अनुसार काम पनि ग¥यो तर बिरालोमा जडित माइक्रोफोनले गरेको रेकर्डमा पृष्ठभूमिको आवाज धेरै नै आउँदा त्यो रेकर्ड काम नलाग्ने नै भयो ।

बिरालोलाई भोग लाग्दा उसले अह्राएको काम छाडेर खानेकुरा खोज्न हिँड्न थालेपछि सिआइएलाई थप समस्या आइप¥यो । जतिभन्दा पनि बिरालोले नटेर्ने । सिआइएले बिरालोलाई यताउता नजाओस् भनी खोजेको ठाउँमै खाना उपलब्ध गराउने बन्दोबस्तसमेत मिलाए तर बिरालोको मन काममा थामिएन । सिआइएको ठूलो लगानी डुब्यो ।

जीवजन्तुलाई गुप्तचरी काममा खटाउने सिआइएको अभियान धेरै पहिलेदेखि सञ्चालनमा रहेको स्पष्ट नै छ । परेवा, बिरालो, डल्फिन माछा आदि सिआइएको परियोजनाको हिस्सा बन्ने गरेका छन् । हामीलाई सम्झना हुनु पर्छ सन् २००५ मा अमेरिकामा भयङ्कर समुद्री आँधी ‘कटरिना’ आएको थियो । आँधीले पारेको मानवीय र भौतिक क्षतिमै प्रायः सबैको ध्यान गयो । राहत र उद्धारमै सबैजना लागिपरे । यी सबै घटनाबीच एउटा समाचार आयो– अमेरिकाद्वारा तालिम दिइएका ३६ डल्फिन मेक्सिकोको खाडीमा बेपत्ता भएका छन् ।

ती आमडल्फिन थिएनन् । तिनलाई सैन्य उद्देश्यले तालिम दिइएको थियो । अमेरिकी जलसेनाले समेत डल्फिनलाई सैन्य प्रयोजनले तालिम दिने गरिएको स्वीकार ग¥यो । आन्ध्र महासागरका ‘बोटलनोज’ डल्फिनलाई समुद्रमा बिछ्याइएका बारुदी सुरुङ पत्ता लगाउने र चिह्नित गर्ने गरी अमेरिकाले तालिम दिने गरेको कुरा सार्वजनिक भयो तर अझ हैरान पर्ने कुरा त के बाहिर आयो भने सम्भावित खतरामाथि आक्रमण गर्ने र त्यसलाई मार्ने काम पनि डल्फिनलाई सिकाइने गरिएको छ ।

साथै डल्फिनमा विषालु ‘डार्ट गन’ समेत जडान गरिने र लक्ष्यलाई पछिसम्म पछ्याउन मिल्ने गरी ‘डार्ट गन’ डिजाइन गरिएको कुरा पनि बाहिर आयो । ‘कटरिना’ कारण महासागरमा भाग्न सफल भएका ती डल्फिन गैरसैन्य क्षेत्रलाई जोखिम हुने कुरा उठेको भए पनि हालसम्म त्यस्तो अप्रिय घटना प्रकाशमा आएको चाहिँ छैन । 

–युवामञ्च