• १५ वैशाख २०८१, शनिबार

बाँकेमा एमालेको परीक्षा

blog

बाँके समाचारदाता

बाँके, चैत ७ गते  । नेकपा (एमाले) बाँकेले जिल्लाभरका सङ्गठित सदस्यहरूको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो । 

उक्त परीक्षामा वयोवृद्ध नेताहरूको समेत सहभागिता छ । खजुरा–२, सीतापुरबाट पार्टी केन्द्रीय सदस्य ८० वर्षीय बाबुराम गौतम, ७५ वर्षीय पूर्वजिल्ला कमिटी अध्यक्ष नन्दलाल रोकायलगायतका नेताको सहभागिता रहेको सचिव खत्रीले बताउनुभयो । एमाले बाँकेले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन भएको हो ।  परीक्षामा करिब पाँच हजार सङ्गठित सदस्य सहभागी हुनुपर्ने भए पनि जिल्लाबाहिर रहेकाले सबैजना उपस्थित हुन नसकेको एमालेले जनाएको छ । 

परीक्षा सञ्चालनका लागि जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिसहित जिल्ला पदाधिकारी र स्कुल विभागका सदस्यलाई जिम्मेवारी दिइएको थियो । परीक्षाका लागि प्रदेश कमिटीबाट प्रश्नपत्र तयार भई जिल्ला पार्टी कार्यालयमार्फत वडामा पुगेको थियो । पार्टी सदस्यलाई पार्टीप्रति क्रियाशील र जवाफदेही बनाउन परीक्षा लिइएको एमालेले जनाएको छ । यसबाट पार्टी सदस्यलाई नीतिगत र अन्य जानकारी दिन सहज हुने अपेक्षा गरिएको एमालेले जनाएको छ ।