• १३ मंसिर २०८१, बिहिबार

चिया खेतीबाट देखियो आम्दानीको सम्भावना

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, चैत ७ गते । ताप्लेजुङमा चिया खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएको छ । पछिल्लो समय जिल्लामा चिया खेती लगाउन सुरु गरिएको र यसबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएको किसानले बताएका छन् । जिल्लामा सुरु गरेको परीक्षण खेतीबाट मनग्ये चिया उत्पादन हुन थालेसँगै आम्दानीको सम्भावना पनि बढेको किसान बताउँछन् ।

सदरमुकाम फुङ्लिङ बजारमा बसोबास गर्दै आउनुभएका फुङ्लिङ नगरपालिका–९, हाङ्देवाका वेदनिधि पौडेलले चिया खेती सुरु गर्नुभएको छ । फुङ्लिङ नगरपालिकाकै वडा नं. १० फुरुम्बुको गढीडाँडामा पौडेलले व्यक्तिगत खर्चमा चिया खेती लगाउनुभएको हो । केही वर्षअघि मात्र गढीडाँडामा लगाएको चिया खेतीबाट अहिले उत्पादन सुरु भएको पौडेलले बताउनुभयो ।

व्यक्तिगत लगानीमा पौडेलले व्यावसायिक चिया खेती सुरु गर्नुभएको हो । उहाँले करिब ६५ रोपनी क्षेत्रफल बराबरको निजी जग्गामा चिया खेती लगाउनुभएको छ । आजभन्दा सात वर्षअघि लगाएको चिया खेतीबाट सामान्य रूपमा उत्पादन सुरु भएको उहाँले जानकारी दिनुभयो ।

चियाबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेर व्यावसायिक खेती थालेको र खेतीबाट उत्पादन सुरु भएपछि आफूलाई खुसी लागेको उहाँको भनाइ छ । सुरुमै माटो परीक्षण गरेर चियाका बिरुवा लगाएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चिया खेतीका लागि माटो उपयुक्त रहेको पाएपछि खेती सुरु गरेको र चियाको बोट राम्ररी नै फस्टाउँदै गरेको छ । 

चिया बगान विस्तार गरी गढीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर खेती सुरु गरेको पौडेलले बताउनुभयो । चियासँगै गढीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके थप आम्दानी लिन सकिने उहाँको विश्वास छ ।

आफ्नो योजनालाई सफल बनाउन अहिले चिया खेती स्याहार, सम्भार तथा व्यवस्थापनमा निरन्तर खट्दै आएको उहाँले बताउनुभयो । चिया बगान व्यवस्थापन, विस्तार, सिँचाइलगायतका काम गरिरहेको उहाँले जानकारी दिनुभयो । खेती विस्तारका लागि थप ३५ हजार चियाका बिरुवा उत्पादन गर्न कलमी गरेर नर्सरी राखेको उहाँले बताउनुभयो ।

चिया खेतीमा लगानी सुरु गर्नुभएका पौडेलले सरकारबाट किसानले पाउने राहत अनुदानको पनि अपेक्षा राख्नुभएको छ । स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको सरकारले कृषि पेसामा संलग्न किसानलाई प्रोत्साहित गर्ने अनुदानका कार्यव्रmम रहेको भन्ने सुने पनि आफूले प्राप्त गर्न नसकेको उहाँको भनाइ छ । अहिलेसम्म जिल्लामा फुरुम्बुको गढीडाँडा क्षेत्र, हाङ्देवाको बुङ्कुलुङ र याम्फुदिनको केही क्षेत्रमा किसानले चिया खेती गर्दै आएका छन् ।