मीना कँडेल
कावासोती, चैत ७ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि देवचुली–१३ मा जग्गा नापजाँच सुरु गरिएको हो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले लामो समयदेखि जोतभोग र बसोबास गर्दै आएका स्थानीयलाई भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको प्रक्रियालाई समाधान गर्न जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । नापीको काम समाधान गरी जग्गाधनी पुर्जा वितरणका लागि थप काम हुने उहाँले बताउनुभयो । देवचुली नगरपालिकामा अहिलेसम्म चार हजार ५५३ जनाको जग्गाधनी पुर्जाका लागि लागत सङ्कलन भएको छ ।
आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा भोग्नुपर्ने पीडा र समस्या जग्गाधनी पुर्जा प्राप्त भएपछि हट्ने भन्दै वडा नं. १३ का वडाध्यक्ष एकदेव पौडेलले जग्गा नापजाँचको क्रममा स्थानीयस्तरमा हुने विवाद, देखिने समस्या समाधान वडा स्तरमा रहेको सहजीकरण समिति, नगर स्तरको सहजीकरण समितिबाट हुने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले आयोगले पुर्जा वितरण गर्नुपूर्व धेरै कार्य हुने भएकाले कानुनी रूपमा काम सम्पन्न गरी भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा हालसम्म ३१ हजार ९३१ घरपरिवारको लागत सङ्कलन गरिएको छ ।” अहिलेसम्म २७० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् भने ११ हजार ३४३ पुर्जा तयारी भइरहेको र केही महिनापछि वितरण गर्ने बताउनुभयो । नापी कार्यालय नवलपुरमा प्रमुख पूर्णहरि सुवेदीले भूमिहीनको हकमा कुनै पनि शुल्कबिना र अव्यवस्थितको हकमा राज्यले तोकेको राजस्व जग्गाधनी पुर्जा प्राप्त गर्ने समयमा मात्रै बुझाउनुपर्ने भन्दै अन्य कुनै पनि शुल्क सङ्कलन यो बिचमा नहुने बताउनुभयो ।
यसअघि जिल्लाको हुप्सेकोट गाउँपालिकामा १८० जना र मध्यबिन्दु नगरपालिकामा ९० जना भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण भएको आयोगले जनाएको छ ।