• १४ पुस २०८१, आइतबार

चितवन उपनिर्वाचन अपडेट

अपरान्ह ४ बजेसम्म ५३ प्रतिशत मत खस्यो

blog

चितवन २ को मोहन मावि मतदानस्थलमा मतदान गर्न जाँदै अपाङगता भएका मतदाता । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । चितवनमा जारी मतदानमा चितवन निर्वाचन क्षेत्र २ मा ५३ प्रतिशत मत खसेको छ । एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार मत अपरान्ह ४ बजेसम्ममा खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ४३ मतदानस्थल र १३८ वटा मतदान केन्द्रमा मतदान जारी रहेको उहाँले बताउनुभयो । मतदाताहरूको सहभागिता उत्साहजनक रहेको छ । प्रमुख कार्कीले भन्नुभयो, “दिउँसो गर्मीमा मतदान केही कमी भए पनि ३ बजेपछि मतदान केन्द्रमा भिड देखिएको छ । निर्वाचन क्षेत्रको पहाडी स्थानमा पनि मतदाताको उत्साह देखिएको उहाँले जानकारी दिनुभयो । 

मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ५ बजेसम्म भए पनि स्थलमा प्रवेश गरिसकेका मतदाताले अबेरसम्म मतदान गर्न पाउने कार्कीले बताउनुभयो । गत मङ्सिर ४ गते भएको मतदानमा चितवन जिल्लामा ६५ प्रतिशत मत खसेको थियो । 

चितवन २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि आज उपनिर्वाचन भएको हो ।