नवराज नेपाली
बागलुङ (गलकोट) असार ११ गते । बागलुङको तमानखोला गाउँपालिले आगामी आवका लागि ३३ करोड ४१ लाख ६ हजार दुई सय ६५ रुपियाँको बजेट प्रस्तुत गरेको हो । गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले प्रस्तुत उक्त बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको बताउनुभयो ।
पालीकाले कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ सात करोड ९४ लाख १७ हजार र चालु खर्चतर्फ २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । आगामी बजेट मार्फत पालिकाले शिक्षामा दुई करोड ५२ लाख ५० हजार र स्वास्थ्यतर्फ एक करोड ६४ लाख ५५ हजार बराबर र पूर्वाधार विकासतर्फ (कर्मागत समेत गरेर) ६ करोड १५ लाख ८४ हजार (पालिका र वडामा एकमुष्ट) विनियोजन गरिएको हो ।
साथै सङ्घीय सरकार सशर्त अनुदानतर्फ ११ करोड ७५ लाख, सङ्घीय सरकार विशेष अनुदान मार्फत सात लाख ५० हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ ८० लाख र प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, प्रदेश सरकार विशेष अनुदान ३९ लाख विनियोजन गरिएको हो ।
गाउँपालिकाले आर्थिक विकास कृर्षि, पर्यटन, उद्योग स्थापना, पशुपन्छी विकास, सहकारी र वित्तीय क्षेत्र लगायतलाई प्राथमिकतामा राखेको छ । साथै पालिकाले नीति कार्यक्रम मार्फत प्रविधिमैत्री सिकाई, मिसन रोजगारी, उद्यमशील बन्न चाहनेका लागि सहुलियत ब्याजदर लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।
विगतमा राखिएका उत्कृष्ट कार्यक्रमहरूलाई निरन्तरता दिँदै गाउँपालिकाले सिपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिनेगरि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताउनुभयो ।