विजयकुमार साह
ढल्केबर, असार ११ गते । पैदल यात्रीको मृत्यु हुने गरी ठक्कर दिएर घटनास्थलबाट फरार भएका कारसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले पक्राउ गरेको छ । घटनामा संलग्न बा.प्र.–०१–००१ ञ २६५४ नम्बरको जिप र त्यसका चालक धनुषाको जनकनन्दनी गाउँपालिका–३, बस्ने २९ वर्षीय कौशलकुमार शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिथिला नगरपालिका–६, ढल्केबरस्थित जनकपुर–ढल्केबर सडक खण्डमा शुक्रबार राति ८ बजे उक्त कारको ठक्करबाट सिराहाको धनगढीमाई नगरपालिका–६, बस्ने ५२ वर्षीय विन्देश्वर मोचीको मृत्यु थियो । ठक्करबाट गम्भीर घाइते भएका मोचीलाई तत्कालै उपचारका प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । तर उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले बताउनुभयो ।
उहाँका अनुसार घटना भएको स्थान अँध्यारो र सुनसान भएकाले कार चालक सवारीसहित फरार भएका थिए । घटनापछि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा रहेका सिसी क्यामरा फुटेज सङ्कलन तथा विश्लेषण गरी अनुसन्धान अघि बढाइएको थियो । त्यस आधारमा रातो रङको निसान कारले ठक्कर दिएको पुष्टि भएपछि सो कारको खोजी तीव्र पारिएको थियो ।
कार हंसपुर नगरपालिका–९ स्थित ढल्केबर–बालगङ्गा १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणाधीन भवनको कम्पाउण्डभित्र त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । जीपको अगाडिको भाग टुटफुट, बर्नटको भाग कुच्चिएको तथा कपडाको टुक्रा चेपिएको अवस्था जीप भेटिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार नेपाल विद्युत प्राधिकरण रत्नपार्कको नाममा दर्ता छ । कार तथा चालकलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।