• ११ असार २०८२, बुधबार

राष्ट्रिय शिक्षा सम्मेलन सुरु

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह 

जनकपुर, असार ११ गते  । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति विद्यालय शिक्षा सुधारको बाधक रहेको बताउनुभएको छ । जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको दुईदिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।

उहाँले विद्यालय व्यवस्थापन समिति स्कुलमा शिक्षक नियुक्ति, विद्यार्थीको खाजा कार्यक्रम र बजेट सञ्चालनमा मात्र केन्द्रित रहने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “समिति यस्तै काममा लागिरहेमा जस्तोसुकै शिक्षा प्रणाली लागु गरिए पनि शिक्षामा सुधार हुन सक्दैन ।”

उहाँले आवश्यक ज्ञान, सिप र प्रविधि अनुसार पाठ्यक्रम लागु गरेर पठनपाठन सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले एआईको युगमा प्रवेश गरिसकेकोले शिक्षा सुधारको बहस पनि चुनौतीपूर्ण बनेको बताउनुभयो । 

उहाँले शैक्षिक सुधारका लागि बालबालिकालाई लागुऔषधको लतबाट टाढा राख्न सरोकारवाला शिक्षक, अभिभावक, सामाजिक व्यक्तित्व, समाजसेवी, कर्मचारी सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । 

कार्यव्रmममा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पछिल्लो समयमा मधेशमा शिक्षाको गुणस्तरीयतामा ह्रास आएको बताउनुभयो ।  उहाँले परीक्षा प्रणालीमा पनि त्रुटि रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दुईदेखि तीन घण्टाको परीक्षा दिएर समग्र शिक्षाको मूल्याङ्कन गर्नु स्वाभाविक देखिँदैन ।” कार्यव्रmममा श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै पठनपाठनमा असर परिरहेको बताउनुभयो ।

 मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले प्रदेश सरकारले शिक्षा नीति पास गरेको बताउनुभयो । उहाँले मधेशको शिक्षामा पहुँच, समानता, गुणस्तरीय र रोजगारीमूलक शिक्षासहित प्रमुख चार चुनौती रहेको बताउनुभयो ।

मधेश प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालयले आयोजना गरेको सम्मेलनको अध्यक्षता गर्दै शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले शिक्षा सुधारका लागि बजेट नपुग भइरहेकोले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो । सम्मेलनले सातबुँदे अपेक्षित परिणाम आउने अपेक्षा गरिएको छ ।