भवानीदत्त भट्ट
कञ्चनपुर, असार ११ गते । सुदूरपश्चिम प्रदेशमा बुधबार र बिहीबार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालयले जनाएको छ । सुदूरपश्चिमका कञ्चनपुर, कैलालीमा सामान्य वर्षा र पहाडी जिल्लाका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालय अत्तरीयाका प्रमुख संजय कुमार शाहले जानकारी दिनुभयो ।
आज दिउँसो आंशिक वर्षा हुने छ भने पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । रातिको समयमा पहाडी जिल्लाहरुमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, बुधबार बिहानसम्म महाकाली नदीको जल सतह सामान्य रहेको महाकाली बेसिन कार्यालय अत्तरीयाका प्रमुख शाहले बताउनुभयो ।