भक्तिविलास पोखरेल
गाईघाट, असार ११ गते । सप्तकोशीको कटानबाट सिङ्गो बस्ती नै जोखिममा परेको भन्दै उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका स्थानीयले तत्काल तटबाँध निर्माण गर्न माग गरेका छन् ।
बेलका नगरपालिका–२, ३, ८ र ९ मा पर्ने प्रभावित क्षेत्रका बासिन्दाले स्थानीय टेकबहादुर भट्टराईको संयोजकमा सप्तकोशी कटान नियन्त्रण तथा स्रोत सङ्कलन समिति नै बनाएर उदयपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाएर कोशी कटान नियन्त्रणका लागि तत्काल तटबाँध निर्माणको काम सुरु गर्न माग गरेका हुन् ।
सप्तकोशी नदीले धार परिवर्तन गरी बेलका नगरपालिका–८, सोमबारेस्थित लाहुरेखोँचमा तीव्र रूपमा कटान गरिरहेको छ । यसअघि नै पटक पटक कोशीको भँगालो गाउँ पसेको स्थानमा निर्माण गरिएको बाँधबाट पुनः कोशी पस्न लागेकाले तत्काल नियन्त्रणको पहल गरिदिन आग्रह गर्दै कटान नियन्त्रण गरिदिन माग गरिएको संयोजक भट्टराईले बताउनुभयो ।
उदयपुर र सुनसरीको बिच भएर बग्ने सप्तकोशी नदीले पश्चिमतर्फ धार परिर्वतन गर्दा उदयपुरको बेलका नगरपालिका र वराहक्षेत्र नगरपालिकाका पाँच वटा वडाका दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा छन् । तीन वर्षअघि आएको सप्तकोशीको बाढीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका–२, ३, ८ र ९ तथा वराहक्षेत्र नगरपालिका–६ का बस्ती उच्च जोखिममा छन् ।
सप्तकोशीले उदयपुरको बेलका नगरपालिका–८ को लाहुरेखोँचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरीटप्पु, चिलियाटप्पु, एबिसी, श्रीलङ्काटप्पु, रामनगर, बोची, भागलपुर, व्रmान्तिटोल, बानडाँडा र कोशीटप्पु आरक्षमा गरी करिब चार हजार घरपरिवार उच्च जोखिममा परेको स्थानीय बासिन्दा सुशील सेढाईले बताउनुभयो ।
सो क्षेत्रमा हुने कोशी कटान नियन्त्रण गर्न कोशी वक्राहा नदी नियन्त्रण आयोजना कार्यालय विराटनगरबाट दुई महिनापहिले मात्रै दुई करोड ३२ लाख रुपियाँमा एक वर्षभित्रमा सम्पन्न गर्ने गरी करिब १५ हजार घनमिटर बिगबोल्डर लगाउन ठेक्का सम्झौता भएको थियो तर असार १ बाट नदीजन्य वस्तु निकाल्न नपाइने कानुनी प्रावधान भएकाले ठेकेदार कम्पनीले अबको तीन महिनापछिबाट मात्रै काम सुरु गर्ने भन्ने आफूले जानकारी पाएको आयोजना कार्यालयका प्रमुख डिई रञ्जन भट्टराईले बताउनुभयो ।
कोशी ब्यारेज सम्झौता अनुसार भारत सरकारले बाँध निर्माण नगर्दा नेपाली भूभाग बर्सेनि कटान र डुबानमा पर्दै आएको हो । चतरादेखि भीमनगरस्थित ब्यारेजसम्म सप्तकोशीको दुवै किनारा भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता भए पनि सो अनुसार काम नभएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो ।
भारतका तत्कालीन प्रधानमन्त्री जवहारलाल नेहरू र नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाबिच सिँचाइ, यातायातको विकास गर्ने उद्देश्यले सन् १९५४ अप्रिल २५ मा कोशी सम्झौता भएकोे हो । वर्षायाममा सप्तकोशी नदीमा पानीको बहाब एक सेकेन्डमै २६ अर्ब घनसेन्टिमिटरसम्म पुग्ने गरेको छ ।