• ११ असार २०८२, बुधबार

चार उपमहानगरको बजेट नौ अर्ब

blog

बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्याल बजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : छविलाल पाण्डे

लुम्बिनी प्रदेश ब्युरो

बुटवल, असार ११ गते । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्बभन्दा बढीको बजेट ल्याएका छन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ । 

बुटवलमा तीन अर्बको बजेट

बुटवल समाचारदाताका अनुसार बुटवल उपमहानगरपालिकाले आगामी आव २०८२/८३ का लागि तीन अर्ब ३६ करोड १३ लाख रुपियाँ बराबरको बजेट ल्याएको छ । नगर सभाको १७ औँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत बजेट खर्च हुने अनुमान रहेको बताउनुभयो । 

बजेटमा आगामी आवमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ । ‘घुमौँ बुटवल’ भन्ने अभियान अन्तर्गत यसै आवलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियान सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । 

विद्यालयको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न छ करोड, कृषि सुधार कार्यक्रम अन्तर्गत ‘बुटवलका किसान हाम्रो सान’ कार्यक्रमका लागि एक करोड, छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने ‘छोरी पढाऊँ’ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोसाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख रुपियाँ बजेट छुट्याइएको छ ।

तुलसीपुरको बजेट दुई अर्ब 

तुलसीपुर समाचारदाताका अनुसार तुलसीपुर उपमहानगरपालिकाको आव २०८२/८३ को बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयलाई प्राथमिकता दिइएको छ । उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले दुई अर्ब छ करोड ६६ लाख ९३ हजार रुपियाँ अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । चालुतर्फ कुल बजेटको ६५.०८ प्रतिशत अर्थात् एक अर्ब ३४ करोड ५१ लाख र पुँजीगततर्फ ३२.९० अर्थात् ६७ करोड ९९ लाख ९३ हजार ८५५ रुपियाँ विनियोजन गरिएको छ । बजेटमा शिक्षा, युवा तथा खेलकुदतर्फ ६० करोड २८ लाख, कृषितर्फ एक करोड ४५ लाख, पशुपन्छी विकासतर्फ एक करोड १५ लाख, भूमिहीन दलित, भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासीको लगत सङ्कलन, लालपुर्जा वितरणका लागि एक करोड बजेट विनियोजन गरिएको छ । 

नेपालगन्जको बजेट एक अर्ब ६४ करोड

नेपालगन्ज समाचारदाताका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले आव २०८२/८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आयव्यय प्रस्तुत गरेको छ । मङ्गलबार सुरु भएको नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख कमरुद्दीन राईले आव २०८२/८३ का लागि अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो । 

उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट ससर्त अनुदान ६२ करोड ६३ लाख, वित्तीय समानीकरण अन्तर्गत २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट २३ करोड, घरजग्गा रजिस्ट्रेसनबाट १२ करोड, आन्तरिक आय २३ करोड प्राप्त हुने जनाइएको छ । यसै गरी जनसहभागिताबाट एक करोड २५ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात ११ करोड ४१ लाख रुपियाँ आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।

घोराहीको बजेट दुई अर्ब २९ करोड 

घोराही समाचारदाताका अनुसार दाङको घोराही उपमहानगरपालिकाले आगामी आव २०८२/८३ का लागि दुई अर्ब २९ करोडको बजेट प्रस्तुत गरेको छ । मङ्गलबार भएको नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख हुमा डिसीले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । 

उहाँले सङ्घ सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये १० करोड ८३ लाख पुँजीगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख ५० हजार, सरसफाइ, वन, वातावरण तथा विपत् व्यवस्थापन अन्तर्गत दुई करोड २९ लाख २० हजार, सामाजिक विकासतर्फ आठ करोड ३० लाख ४५ हजार, शिक्षा, युवा तथा खेलकुद आन्तरिकतर्फ आठ करोड ६९ लाख ३० हजार रुपियाँ, आर्थिक विकास अन्तर्गत छ करोड ६७ लाख ४४ हजार, खेलकुद प्रतियोगिता सञ्चालनका लागि ३७ लाख ५० हजार, उज्यालो आँखा कार्यक्रमका लागि १५ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।