• २८ पुस २०८१, आइतबार

चितवन उपनिर्वाचन अपडेट

चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

blog

चर्को घाममा छाता ओढेर मतदानका लागि मतदानस्थल जाँदै मतदाताहरु । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिँडेरै मतदाताहरू मतदान गरिरहनुभएको छ । ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिका १० को नारायणी माध्यमिक विद्यालयस्थलमा मतदान गर्न हिँडेको दुर्गा पौडेलले आफ्नो मतको अधिकार प्रयोग गर्न गर्मीको बेवास्ता गरेको बताउनुभयो ।  भरतपुर महानगरपालिका १२ का शोभा पण्डितले संविधानले दिएको अधिकारलाई घामपानीले नछेक्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई जिताउन घामको बेपर्बाह गरेको बताउनुभयो ।

मतदान कार्यमा महिला मतदाताको उत्साह अझ बढी देखिएको छ । खुला सडकमा पैदल, साइकलमा छाता ओढेर मत हाल्न हिँडेका छन् । आइतबार चितवनको तापक्रम ३५ डिग्री सेल्सियस रहेको भरतपुर विमानस्थलका प्रमुख दीपक विकले जानकारी दिनुभयो । चितवनमा आज बिहानदेखि घाम लागेको छ । 

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहनुभएको छ ।